INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय सभा निर्वाचनः मौन अवधि सुरू, नागरिकता देखाएर पनि मतदान गर्न पाइने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा माघ २१ गते बसेको आयोगको बैठकले स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्रको अतिरिक्त आयोगबाट जारी मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको आयोगले जनाएको छ ।

निर्वाचित भएको प्रमाणपत्र कारणवश हराएमा वा नष्ट भएमा पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

गए राति १२ बजेदेखि मौन अवधि सुरु

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २२ गते लाग्दालाग्दै मध्यराति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।

साथै आम सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने हुँदा त्यस्ता सामग्री प्रकाशन/प्रसारण नगर्न आयोगले आग्रहसमेत गरेको छ ।

अन्य

भिडियो