घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ ।
नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा कालु राम चौधरी, सचिवमा कृष्ण वि.क., सहसचिवमा शोभा चौधरी र कोषाध्यक्षमा शङ्कर चौधरी सर्वसम्मत चयन हुनभएको छ भने सदस्यमा दीपेश बोहरा, विनोद चौधरी, विश्वदेवी श्रेष्ठ, यमुना रावत, जमुना कँडेल र लक्ष्मी वि.क. चयन हुनभएको छ ।

विगत तीन वर्षदेखि घोडाघोडी नगरपालिकामा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वयमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन वकालत र पैरवी गर्ने उद्देश्यले मानव अधिकार समूह गठन गरिएको थियो ।
मानव अधिकार समूहले नागरिकका मानव अधिकारका सवाल शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक तथा जातीय छुवाछूत लगायतका सवाल उठान गर्न र नागरिकका समस्यालाई सम्बन्धीत निकायसम्म पु¥याउनका लागि मानव अधिकार समूहलाई सकृय बनाउन साधारण सभाको आयोजना गरी नयाँ कार्य समिति निर्माण गरिएको नवनिर्वाचित अध्यक्ष आशा परियारले बताउनु भयो ।

इन्सेक कैलाली जिल्ला सहजकर्ता वीरेन्द्र शाहले मानव अधिकार समूहले विगत लामो समयदेखि स्थानीयस्तरका सवालहरु पहिचान गरी स्थानीय तहलाई जबाफदेहि बनाउँदै आएको र इन्सेकले पनि निरन्तर रुपमा मानव अधिकार समूहलाई सहयोग गर्दै आएको बताउनु भयो ।