आर्थिक अवस्था कमजोर भएका कारण सामूहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ८ गते पीडित बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको छ ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधिले प्रहरी र पीडित बालिकाको आमा, हजुरबाआमाको रोहवरमा सो रकम चैत ८ गते हस्तान्तरण गर्नुभएको थियो । पीडितले वाणगंगा नपा–२, कप्टैयाका २१ बर्षीय मोहन थारु र सोही ठाउँकै १५ वर्षीय बालकले आफूलाई डरधम्की दिइ पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको थियो ।
आरोपितले घटनाका विषयमा कसैलाई भने हजुर बुवा आमालाई नै मारिदिने भन्दै डरधम्की देखाएर बलात्कार गरेको डरले कसैलाई भन्न नसकेको बालिकाले इन्सेकसँगको कुराकानीमा बताउनु भयो । फागुन २१ गते अचानक एक्ककासी पेट दुखेपछि अस्पताल जचाउँदा पेटमा २८ हप्ता माथिको बच्चा रहेको डाक्टरले भनेपछि थापा पाएको बताउनु भयो ।
पीडित बालिकाका बुबा आमाको ७ वर्ष अगाडी सम्बन्धविच्चेद भएको, आमाले अर्को विवाह गरी गएको र बालिका मावलीमा बस्दै आएकोको मावलीको अवस्था पनि एकदमै कमजोर भएकोले न्यायिक प्रकृयामा जान इन्सेकको पीडित राहत कोष मार्फत आर्थिक सहयोग गरिएको हो । घटनाका आरोपितहरू अहिले इलाका प्रहरी कार्यालय, पिपराको हिरासत र बालकक्षमा रहेका छन् ।