वीरेन्द्रनगर नगरपालिका–१२, नौलो टोलमा बस्दै आउनुभएकी ३६ वर्षीया एकल महिला तिर्सना परियारलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ फागुन २६ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ ।
सोही ठाउँकी शान्ति थापाले २०५२ सालदेखि बसेको जग्गा आफ्नो भएको भन्दै जिल्ला अदालत सुर्खेतमा फागुन १९ गते निवेदन दिनुभएको थियो । त्यसैको प्रति उत्तर दिनका लागि आर्थिक अभाव भएपछि सहयोगको माग गर्दै इन्सेकमा फागुन २० गते निवेदन दिनुभएको थियो ।
पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको फागुन २१ गते बसेको सचिवालय बैठकको निर्णय अनुसार नगद सात हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपि र यात्रा खर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।