अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पीडितलाई सहयोग गर्न जिल्ला प्रतिनिधि, मानव अधिकार रक्षक, मानव अधिकार समूह, नागरिक समाज, कानुन व्यवसायी, मानव अधिकार सहायता कक्षमा उपस्थिति सम्पूर्ण अधिकारकर्मीहरू, प्रहरी लगायत विभिन्न सरोकारवालाहरूको सिफारिसमा घरेलु हिंसा, अंश, नेपाली नागरिकताको सवाल, बालबालिकालाई स्कुलमा कुटपिट, बलात्कार तथा यौन दुर्व्यवहारबाट पीडित महिला तथा बालबालिकालाई सहयोग गर्दै आएको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, शाखा कार्यालय, नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीले आयोगमा घटना आउने र त्यसका आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । उहाँले आउने दिनमा पनि इन्सेकसँग समन्वय, सहकार्य आवश्यक गर्दै पीडितहरूको मानव अधिकारको सवाललाई अझ प्रभावकारी बनाउन सँगसँगै काम गर्दै जाने कुरामा जोड दिनुभयो ।

झापा जिल्ला सुन्दर हरैया नगरपालिका-१२ बस्ने ५२ वर्षीय सुकबीर लामासँग ०६० फागुन १६ गते विधिवत रुपमा विवाह भइ २०६१ फागुन १६ गते छोरी रोजी लामाको जन्मपश्चात सम्पर्क विहिन भएकोपछि जिल्ला अदालतको आदेशले अंश र स्थानीय निकाय र कानुनी परामर्शबाट पटक पटकको प्रयासले छोरीको नाता प्रमाणित, जन्मदर्ता बनाएर ०८१ फागुन २३ नेपाली नागरिकता प्राप्त गरेको वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठले बताउनु भयो । अदालतले आमा र छोरी दुवैको अंश लगाइदिएको कुराले आफूहरूको जीवनको महत्त्वपूर्ण उपलब्धि रहेको वरिष्ठ अधिवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
एडभोकेसी फोरम नेपालको अध्यक्ष अधिवक्ता बसन्त गौतमले बालबालिका तथा महिलाको सवालमा मानव अधिकार सहायता कक्षले गरेको सहयोगबाट सात/आठ जना पीडितले इन्सेकको सहयोगले कानुनी प्रकृयामा जान सहज भएकाले सफलता प्राप्त गरेको र पीडितहरूले राहत महशुस गरेको बताउनु भयो ।
कार्यक्रमलाई सहजीकरण गर्दै इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले २० अक्टुबर २०२४ देखि हालसम्म १० जना पीडितहरूलाई सहयोग गरेको र दुई जना पीडितलाई सहयोगका लागि सिफारिस आएको बताउँदै बैठकले मानव अधिकार उल्लङ्घन घटनाबाट पीडित भएका थप १० जनालाई विगतमा गरिएका सहयोगको अनुमोदन गर्यो ।
