INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम सम्पन्न

११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले विशेष सम्बोधन गर्दै महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

Pokhara 8 march-01

गण्डकी प्रदेश सरकार, इन्सेक, नौलो घुम्ति, राइट फर चिल्डेन, एकता महिलासमूह लगायतको आयोजनामा प्रभातफेरि कार्यक्रम गरिएको थियो । प्रभातफेरिपछिको कोणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले नेपालमा दशकौँ लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएको बताउनुभयो । संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानूनी व्यवस्थाहरूको चर्चा गर्दै उनले मुलुकका तीनै तहका सरकार, संसद्, र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको उल्लेख गर्नुभयो ।

‘पछिल्ला वर्षहरूमा नेपालले लैङ्गिक समानताका विभिन्न सूचकहरूमा प्रगति गरिरहेको छ । यसलाई थप परिणाममुखी बनाउन महिला सशक्तीकरण, आर्थिक, सामाजिक र संरचनात्मक रुपान्तरण अति आवश्यक छ,’ उहाँले भन्नुभयो ।

Pokhara 8 march-02

मन्त्री थापाले स्वदेशमा महिलाहरू समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसामा पर्ने, रोजगारीका लागि विदेशिनुपर्ने जस्ता समस्या विद्यमान रहेको उल्लेख गर्दै यी समस्याहरू समाधान गर्न कानूनी, नीतिगत, र व्यवहारिक सुधारहरू आवश्यक रहेको बताउनुभयो ।

महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिलासँग सम्बन्धित नभई सबैका लागि सरोकारको विषय भएको उहाँको भनाइ छ । उहाँले महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानूनी सुधार र नीतिहरू लागू गर्ने गरी प्रदेश सरकार अगाडि बढेको जानकारी गराउनुभयो ।

महिलाहरूका लागि उद्यमशीलता, स्वरोजगार, र सीप विकास कार्यक्रमहरू सञ्चालन गरी महिला उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण, अनुदान, र बजार पहुँच सुनिश्चित गर्ने बाटोमा प्रदेश सरकार अग्रसर रहेको उहाँले बताउनुभयो ।

बालिका शिक्षामा जोड दिँदै उनले शैक्षिक संस्थामा लैङ्गिक मैत्री वातावरण निर्माण गर्ने तथा प्राविधिक शिक्षा र व्यावसायिक तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाए । साथै, गर्भावस्था, प्रसूति, र मानसिक स्वास्थ्य सेवामा विशेष ध्यान दिँदै महिलामैत्री स्वास्थ्य सेवा विस्तार गरिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका प्रमुख नितु गड्तौलाले समानता र महिला अधिकार प्रत्याभूत हुने कुरामा सबैको जोड हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

कार्यक्रममा सुरक्षाकर्मी, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अन्य

भिडियो