देवचुली नगरपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । इन्सेक गण्डकी प्रदेश र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना साथै देवचुली नगरपालिका–१० र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहकार्यमा पुस २६ गते देवचुली नगरपालिका–१०, मा रहेको बालिका सिकाइ केन्द्रमा कार्यशाला तथा खानेपानी सरसफाई सामग्री हस्तान्तरण गरिएको हो ।
देवचुलीका पृथ्वी माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, मनकामना आधारभूत विद्यालय, सुर्य किरण आधारभूत विद्यालय, नव नेपाल आधारभूत विद्यालय र कावासोतीको जनकल्याण माध्यमिक विद्यालयलाई फोहर संकलन गर्ने डस्टबिन, पानी राख्ने बाल्टिन, मख, कुचो र डस्ट कलेक्टर हस्तान्तरण गरिएको इन्सेक सहजकर्ता राजु चापागाईले बताउनु भयो ।

उहाँका अनुसार माध्यमिक विद्यालयमा प्रति विद्यालय २० ओटा डस्टबिन, चार ओटा पानी राख्ने बाल्टिन, ३५ ओटा मग, १० ओटा कुचो र १० ओटा डस्ट कलेक्टर वितरण गरिएको हो भने आधारभूत विद्यालयमा १० ओटा डस्टबिन, ३ ओटा पानी राख्ने बाल्टिन, २५ ओटा मख, ६ ओटा कुचो र ६ ओटा डस्ट कलेक्टर वितरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रम पूर्व भएको वातावरण संरक्षण, खानेपानी र सरसफाइका विषयमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव इन्द्रमणी भुसालले सहजीकरण गर्नुभएको थियो । वातावरण संरक्षणमा सरोकारवालाको भुमिका, वातावरणको अधिकार लगायत खानेपानीको सही रुपमा प्रयोग, मुहान क्षेत्र संरक्षण र सरसफाइका विषयमा उहाँले सहजीकरण गर्नुभएको थियो । विद्यालय र समुदायमा सरसफाईका लागि विद्यार्थीको भुमिका समेत उहाँले जानकारी गराउनुभएको थियो ।
देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले ६ ओटा विद्यालयमा सचेतनामुलक कार्यक्रम अन्तर्गत वातावरण अधिकारसम्बन्धी कार्यशाला र सरसफाई सामग्री वितरणको कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै समुदायमा सचेतनाका अभियानमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो । देवचुली नगरपालिकालाई वातावरणमैत्री बनाउनका वडा तहसम्म काम गरिरहेको र सबै पक्ष समेटेर नीति तथा कार्यक्रम तयारी गरी आवश्यक पर्ने कानुन निर्माण लागि कार्यपालिका छ्लफल गरिने उहाँले बताउनु भयो ।

देवचुली नगरपालिका-९ का वडा अध्यक्ष बलिराम सापकोटाले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताउनु भयो । घर समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सापकोटाले बताउनु भयो । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले सचेतनामुलक कार्यक्रममा सहभागी अवसर प्राप्त गरेको बताउँदै यस्ता कार्यक्रमबाट समुदायमा सचेतना अभिवृद्धि सहयोग पुग्ने बताउनु भयो । सामाजिक कार्य गर्नका लागि इन्छाशक्ति आवश्यक पर्ने र सामाजिक अभियानलाई सबैको सहयोग हुनुपर्ने उहाँको भनाइ छ । आफ्नो संस्थाले सरसफाई क्षेत्रमा समेत काम गरिरहेकाले वातावरण संरक्षणमा सबैको चासो हुनुपर्ने बताउनु भयो ।
देवचुली मानव अधिकार समूहका अध्यक्ष कृष्ण विकले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकारसम्बन्धी जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । मानव अधिकार समूहद्वारा स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार तथा जातीय विभेदसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको बिकले बताउनु भयो ।