INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Photo 20241229 Dhanusha (1)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम जनकपुरधाममा ०८१ पुस १४ गते विहान सम्पन्न गरिएको छ ।

सन् २०२४ मा धनुषा जिल्लामा अभिलेख गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाको पुष्टि तथा पुनर्पुष्टिका लागि आज समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

समीक्षा कार्यक्रममा धनुषा जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार यस वर्ष राज्य पक्षबाट एक र अन्य पक्षबाट ८ सय १२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भए । गत वर्ष अर्थात् सन् २०२३ मा १ सय २२ जना पीडित भएको घटना अभिलेख गरिएको उहाँले जानकारी दिनु भएको थियो । सन् २०२४ मा दुई महिला र एक पुरुष गरी तीन जनाको हत्या भयो भने दुई जना महिलाको परिवारजनबाट हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।

Photo 20241229 Dhanusha (5)

यस वर्ष कुटपिट घटनामा नौ जना पीडित भएकोमा अन्य पक्षबाट आठ जना र राज्य पक्षबाट एक जना पीडित भएको प्रतिवेदनमा छ । यो वर्ष चार जनामाथि अमानवीय व्यवहारका घटना भए भने बालअधिकारका घटनामा ११ बालिका र तीन बालक गरी १४ जना पीडित भएको प्रतिवेदनमा उल्लेखछ । जसमध्ये अपहरण घटनामा एक, विद्यालयमा दिने शारीरिक सजायका घटनामा दुई जना बालक, बलात्कार घटनामा नौ र यौन दुर्व्यवहार घटनामा दुई जना बालिका पीडित भएको छ । गत वर्ष अर्थात् सन् २०२३ मा ११ जना बालबालिका पीडित भएका थिए ।

महिला अधिकार घटनामा यो वर्ष ७ सय ८२ जना पीडित भएकोमा मानव बेचबिखन घटनामा तीन, बलात्कार घटनामा २३, बलात्कार प्रयासका घटनामा दुई र र यौन दुर्व्यवहारका घटनामा एक, बोक्सीको आरोप घटनामा चार, घरेलु हिंसाका घटनामा ७ सय १७ र बहुविवाहका घटनामा २९ जना पीडित भएको उल्लेख छ । गत वर्ष अर्थात् सन् २०२३ मा ९१ जना महिला पीडित भएको घटना अभिलेख थियो ।

Photo 20241229 Dhanusha (6)

Photo 20241229 Dhanusha (2)

समीक्षा बैठकमा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीले जिल्लामा हिंसाका घटनाहरूमा बृद्धि भइरहेकोले हिंसाका घटनाहरूलाई न्यूनिकरण गर्न प्रहरी र समुदायको साझेदारी आवश्यक रहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय समन्वय गर्ने निकाय भएकोले हामी संवेदनशिल रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी भुवनेश्वर तिवारीले मानव अधिकार अभिलेखिकरण र मानव अधिकार प्रबर्द्धन गर्न इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक राम्रो समग्री भएको बताउनु भयो । नेपाल प्रहरी मानव अधिकार प्रति सचेत रहेको उल्लेख गर्नु हुँदै मानव अधिकार संस्थाहरुसँगको समन्वय र सहकार्यमा मानव अधिकार सचेतना भइरहेकोले घटनाहरुमा बढोत्तरी भएको बताउनु भयो । घटनाका पीडितको न्यायमा हामी सबै जना केन्द्रीत हुनु पर्ने उहाँको जोड थियो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकारका घटनामा वृद्धि हुनु र नागरिकले सहज रुपमा न्याय र अधिकार नपाउँनुले मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको बताउनु भयो । हिंसाका घटनामा वृद्धि भइरहेको उहाँले उल्लेख गर्नु हुन्दै हिंसाका घटनालाई न्युनिकरण गर्नका लागि कानुनहरुको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । समाजमा अहिले पनि मानव अधिकारसम्बन्धी कानुनी सचेतना आवश्यक रहेकोले सम्बन्धित निकायहरुको समन्वय र सहकार्यमा ध्यान जान आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष बलराम मिश्रले इन्सेकले मानव अधिकार वर्ष पुस्तक हरेक वर्ष प्रकाशन गर्दै आएको उल्लेख गर्नु हुँदै मानव अधिकार उल्लंघनका घटना न्युनिकरण गर्न र मानव अधिकारको कानुनी सचेतना समुदाय तहसम्म पु¥याउन अनुरोध गर्नु भयो । कानुनी सचेतनाका लागि नेपाल बार एशोसिएशनले निःशुल्क रुपमा मानव अधिकार अभियानमा सहयो गर्ने र हाम्रो कानुन व्यवसायीहरुले अति विपन्न र दलित पीडितहरूलाई निःशुल्क रुपमा वकालत गर्न तयार रहेको बताउनु भयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले घटनाहरू दिनप्रतिदिन बढीरहेकोले यस घटनाहरूलाई न्यूनिकरण गर्नका लागि स्थानीय तहहरूसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो । वैदेशिक रोजगारमा दिनप्रतिदिन ठगी, किसानहरूको बिउबिजन, खाद्य मलको समयमा व्यवस्था नभएकोले यस विषयलाई पनि मानव अधिकारको वर्ष पुस्तकमा समावेश गर्न उहाँले आग्रह गर्नु भयो ।

सेफ नेपालका परियोजना संयोजक तथा मानव अधिकारकर्मी विनोद महराले पहिलाको तुलनामा मानव अधिकारको घटनाहरू कमी देखिएपनि सामाजिक र पारिवारिक घटनामा वृद्धि भएको बताउनु भयो । आप्रवासी कामदारको मानव अधिकार र जातीय छुवाछुत तथा सीमान्तकृत समुदायको हक हितका सवालमा मानव अधिकारकर्मीले बोल्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले इन्सेकले पत्रकारहरूसँग पनि समन्वय गरी काम गर्न आवश्यक रहेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका अधिकृत दीपक ठाकुरले जनकपुरधाममा फोहर व्यवस्थापन नभएकोले मानिसहरू बिरामी भएको बताउनु भयो । शिक्षा र स्वास्थ्य तथा पर्यावरणको विषयलाई पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

पत्रकार वीरेन्द्र रमणले बलात्कारका घटनाहरूमा प्रभावकारी अनुसन्धान नहुँदा निर्दोष व्यक्तिहरू कानुनको दायरामा परेकोले सूक्ष्म रुपमा गहिरो अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भयो ।
Photo 20241229 Dhanusha (4)

Photo 20241229 Dhanusha (5)

अन्य

भिडियो