नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न बर्दियामा सम्पन्न गरिएको छ ।

समीक्षामा बोल्दै बर्दिया जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले इन्सेकले विगत लामो समयदेखि मानव अधिकारको पक्षमा काम गर्दै आएको बताउनु भयो । उहाँले अदालतमा आएका मुद्दामा पनि मानव अधिकारको पक्षमा हुने गरी अदालतले काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने शब्द पनि कानुनमा उल्लेख भए बमोजिम बनाउँदै लैजान समेत सुझाव दिनुभयो । उहाँले अदालतमा दर्ता भएका मुद्दामध्ये बालबालिकाको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर अदालत काम गर्दै आएको समेत बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता कर्णबहादुर बुढाक्षेत्रीले मानव अधिकारको मुद्दामा हुने अनुसन्धान, पीडितको बयान र प्रमाणहरूले पनि फैसलामा प्रभाव पार्ने गरेको बताउनु भयो । उहाँले कतिपय मुद्दामा भएको घटनाभन्दा फरक तरिकाले आउने गरेको बताउनु भयो । उहाँले परिवारभित्र हुने बलात्कार, यौन दुर्व्यवहारको घटना बढेको हुँदा यसले समाजमा असर पार्ने बताउनु भयो । उहाँले अदालतमा दर्ता भएका मुद्दामा अधिकांश बालबालिकाको मुद्दा भएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरले प्रहरीले मुद्दाको अनुसन्धान गर्दा मानव अधिकार नहोस् भनेर ध्यान दिने गरेको बताउनु भयो । उहाँले प्रहरीको आउने मध्ये अधिकाश ठाडो उजुरी हुने गरेको समेत बताउनु भयो । उहाँले समाजमा हुने घटना न्यूनीकरण र मुद्दा जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, राजनितिक दल लगायतले गर्ने सहयोगले पनि समाजमा हुने मानव अधिकार हनन्का घटना कम गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘कानुन पनि पीडित मैत्री हुँदा पीडितले पाउने न्यायमा राहत र क्षतिपूर्तिको व्यवस्था रहेको छ ।’
नागरिक समाजकी संयोजक हिमा सुनारले बर्दियमा भएका घटनाहरूको विवरण हेर्दा बालबालिका बढी पीडित र प्रभावित भएको हुदाँ बर्दिया रहेको सङ्घसंस्थाले मानव अधिकार घटना न्यूनीकरण गर्नका लागि सचेतना मूलक कार्यक्रम गर्न आवश्यक रहेको देखिएको बताउनु भयो । बर्दिया जिल्ला अदालत बार एसोसियसनमा अध्यक्ष कमलप्रसाद पाण्डेले इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा वर्ष भरी भएका घटनाहरूको अभिलेख गरी अदालत फैसला भएका घटना समावेश हुुने गरेको बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तकले देश भर भएको घटनाहरुको विवरण सङ्कलन गरी प्रकाशन गर्ने हुँदा मानव अधिकारको विषयमा अध्ययन गर्ने अध्ययनकर्ताका लागि समेत यो पुस्तक महत्त्वपूर्ण रहेको छ ।
समीक्षा कार्यक्रममा इन्सेक बर्दिया जिल्ला प्रतिनिधिले जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेकले एक वर्षमा गरेका घटनाहरूको सार्वजनिकीकरण गर्नुभएको थियो । जिल्लामा मानव अधिकार महिला अधिकारमा बलात्कारका १६ ओटा घटना, बलात्कार प्रयासका ६ ओटा घटना र यौन दुर्व्यवहारका पाँच ओटा घटना रहेको थियो । बाल अधिकार अन्तरगत बलात्कारका २७ ओटा घटना र यौन दुर्व्यवहारका १३ ओटा घटना रहेको छन् । बालविवाहका एक ओटा घटना र बहुविवाहका ६ ओटा घटना रहेका छन् । मानव बेचबिखन तथा ओसारपसारका चार ओटा घटना, हत्याका एक ओटा घटना र आत्महत्या दुरुत्सान गरी तीन ओटा घटना लगायतका अन्य गरी १ सय ६१ ओटा घटना रहेका छन् ।

