नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न कपिलवस्तुमा सम्पन्न गरिएको छ । इन्सेक कपिलवस्तुको आयोजनामा ०८१ पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

समीक्षा कार्यक्रममा इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधिले जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेकले एक वर्षमा गरेका घटनाहरूको सार्वजनिकीकरण गर्नुभएको थियो । इन्सेक कपिलवस्तुको विगत एक वर्षको अभिलेख अनुसार जिल्लामा अभिलेखीकरण भएका घटनाहरू जसमा बालबालिका सम्बन्धी बलात्कारका २५ जना, यौन दुर्व्यवहारका १२ जना, महिला सम्बन्धी बलात्कार पाँच जना र बलात्कार प्रयास १३ जना रहेका छन् । मानव बेचविखन तथा ओसार पसारका चार जना, पारिवारिक हत्या एक जना, बहुविवाह तीन जना, आत्महत्या दुरुत्साहन तीन जना, अपहरण दुई जना, हिसाशतमा मृत्यु एक जना र घरेलु हिंसाबाट ४ सय ३६ जना पीडित रहेका छन् ।

कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मानव अधिकारको सवालमा इन्सेक नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था भएकोले जिल्लाका समग्र विषयहरू समेटिएको भए पनि मिटरब्याजीको सवाल छुटेकोले यस्ता विषयलाई इन्सेकले कसरी हेरेको छ सो विषयलाई पनि सम्बोधन गर्नुपर्नेमा बताउनु भयो । प्रमुख जिल्ला अधिकार अर्यालले इन्सेकले अभिलेख गरे अनुसार महिला तथा बालबालिकाको हिसावले समस्याहरू यथार्थ भएको भन्दै यस्ता सवालहरू स्थानीय सरकारसँग जोडिएको विषयहरू भएकोले आगामी कार्यक्रममा स्थानीय सरकारलाई पनि बोलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी निरञ्जन दत्त भट्टले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै जिल्लामा एक जना व्यक्तिले यति धेरै काम गर्नुभनेको निकै चुनौतीपूर्ण रहेको बताउनु भयो । एसपी भट्टले नेपाल प्रहरी मानव अधिकारको सवालमा संवेदनशिल भएको बताउँदै मानव अधिकारको सवालमा इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा सशस्त्र प्रहरी वल सीमा सुरक्षाका एसपी रामजङ्ग पाण्डेले इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको र प्रहरीलाई मानव अधिकारको संरक्षणका विषयमा धेरै सहकार्य गर्दै आएको बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने सवालमा संवेदनशिल भएको बताउनु भयो । पछिल्लो समायमा मानव अधिकारको सवालमा धेरै समस्या भएको र सीमा सुरक्षामा कुनै पनि दुर्व्यवहार नभएको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामआशिष पाण्डेले मानव अधिकारको सुरक्षित कसरी गर्ने, मानवलाई कसरी शक्ति सम्पन्न गराउने भन्ने विषयसँग जोडिएको विषयमा इन्सेकले गरेको काम महत्त्वपूर्ण भएको बताउनु भयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शान्तिदेवी हरिजनले महिलाहरू विभिन्न समस्याहरूबाट पीडित भएकोले महिलाहरूको विवाह दर्ता नहुने, नागरिकता नहुने हुँदा अन्य सेवा सुविधाहरूबाट वञ्चित भएकोले सो विषयमा इन्सेकले अनुगमन गरी न्यायमा पहुँच पुर्याउनका लागि सहयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले इन्सेकले स्थानीय सरकारले गरेका राम्रा कामका लागि पनि इन्सेकको वर्ष पुस्तकले नटुवा समुदायका बच्चाहरूको सवालमा पनि समेट्न आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा अङ्ग्रजी माध्यमबाट पढाउने अभ्यास पनि भएको छ । यस्ता विषयमा पनि वर्षपुस्तकमा समेट्नुपर्ने उहाँले बताउनु भयो । उहाँले युवाहरू कुलतमा फसेर बाटोमा हिँड्न सक्ने अवस्था नभएको समेत उल्लेख गर्नुभयो ।
गैरसरकारी संस्था महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष जीत कुमारी बेल्बासेले मानव अधिकारको सवालमा एचआइभी सङ्क्रमितको सवाललाई पनि समेट्नुपर्ने भन्दै सबैभन्दा बढी विभेद र लाछ्ञ्नाबाट एचआइभी सङ्क्रमितहरू रहेकोले यस्ता विषयलाई पनि इन्सेकको मानव अधिकार वर्ष पुस्तकमा समेट्न सुझाव दिनुभयो । कार्यक्रममा शिक्षा विकास समन्वय इकाई कपिलवस्तुका प्राविधिक सीता घिमिरेले बहुविवाहबाट जन्मेका बच्चाहरुको जन्म दर्ता र पहिचानको अधिकारको सवालमा पनि इन्सेकले काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा जवाफदेहिता निगरानी समितीका संयोजक माया ज्ञवालीले अदालतले गरेको फैसला पीडितमैत्री भए पनि कार्यान्वयन हुन नसकेको कारण विवाह दर्ता सम्पत्ति नपाउनेको समस्याहरू भएकोले उनीहरूको नागरिकताको बनाउने विवाह दर्ता गराउने विषयमा पनि कसरी सपोर्ट गर्न सकिन्छ सो विषयमा पनि इन्सेकले सहजीकरण गर्नुपर्ने बताउनु भयो । मानव अधिकारकर्मी रामदयाल ठाकुरले मानव अधिकारको सवालमा इन्सेकले महत्त्वपूर्ण कार्य गर्दै आएको बताउनु भयो । उहाँले अहिले दुर्घटनाबाट धेरै जनाले ज्यान गुमाएकोले यस विषयमा पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने बताउनु भयो ।
गैर सरकारी संस्था महासङ्घका अध्यक्ष जेपी पाण्डेले जिल्लामा रहेका मानव अधिकारकर्मी र महिला अधिकारकर्मीहरूको अवस्थाको विषयमा पनि इन्सेकले अभिलेख गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष रुकैया खातुनले मानव अधिकारको सवालमा इन्सेकले गरेको कामप्रति सबैले ऐक्यबद्धता गरेको कारण पनि मानव अधिकारको विषयमा सचेत बन्दै गएको बताउनु भयो ।कपिलवस्तु नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेलले मानव अधिकार वर्ष पुस्तकले समेटेका विषयहरू महत्त्वपूर्ण रहेकोले मानव अधिकारका सवालमा नागरिक समाज पनि हातेमालो गर्न तयार भएको बताउनु भयो ।
शान्ति पुर्नस्थापना केन्द्रका प्रमुख भूमिराज भट्टराइले इन्सेकले हरेक सवालहरू समेटेर मजदुरहरूका सवाललाई पनि समेटनुपर्ने बताउनु भयो । अधिवक्ता महेन्द्र खनालले इन्सेकको मानव अधिकार वर्ष पुस्तकले अभिव्यक्ति स्वतन्त्रताको सवालमा पनि समेट्न आग्रह गर्नुभयो । पत्रकार पार्वती पाण्डेले इन्सेकले गरेको समीक्षामा सबै क्षेत्रका सवाललाई तथ्याङ्कको रूपमा समेट्न आग्रह गर्दे मानव अधिकारको सवालमा सबै सवालहरूलाई समेटन आग्रह गर्नुभयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सम्बन्धी अधिकारकर्मी प्रेरणा विष्टले इन्सेकले मानव अधिकारको क्षेत्रमा धेरै वकालत गर्दै आइरहेको बताउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय अधिकारको विषयमा सधै यसरी सहकार्य गर्न आग्रह गर्नुभयो ।

