अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०२४ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले अभिलेखीकरण गरेको १ सय ४५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो ।

इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार हालसम्म इन्सेकले अभिलेखीकरण गरेको घटनामा १ सय ६० जना पीडित भएका छन् । जसमा हत्याका १८ ओटा घटनाबाट १९ जना, घरेलु हिंसाका २० ओटा घटनाबाट २० जना, बलात्कारको १७ ओटा घटनाबाट १७ जना पीडित भएका छन् ।
मोरङ कारागारमा रहेका २ जना कैदी, बन्दीहरूको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । मोरङमा अपहरण, मानव बेचविखन, बहु विवाह, अमानविय व्यवहार, धम्की, यातनालगायतका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू पनि अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ ।

पूर्व वार्षिक समीक्षा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका प्रमुख वीरबहादुर बुढा मगरले मानव अधिकार संरक्षणका लागि कुनै एक निकायको मात्रै नभई आम नागरिकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले मानव अधिकार संरक्षणका लागि समाजका सबै पक्षबिच हातेमालो हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले इन्सेकले हरेक वर्ष देशभरका मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई समेटेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको र वर्ष पुस्तकमा जिल्लाहरूमा संकलित तथ्याङ्कहरूका विषयमा पूर्व समीक्षा हुने गरेको जानकारी गराउनु भयो । उहाँले समीक्षाबाट प्राप्त सुझावहरूलाई वर्ष पुस्तकमा समावेश गरिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मानव अधिकारकर्मी देवी बाँस्कोटाले मोरङ जिल्लामा प्राकृतिक विपद्ले पुर्याएको जनधनको क्षतिका विषयलाई पनि वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनुभयो । यस्तै वातावरण विनाशका कारण भइरहेको मानवीय क्षतिका विवरणलाई पनि समावेश गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा अधिकारकर्मीहरू दिनेश श्रेष्ठ, मीना जोशी, विनोद पोखरेल, बासुदेव अधिकारी, निस्मा नेपाल, मन्दिरा विश्वकर्मा, राधा पासवानलगायतले वर्ष पुस्तकमा वातावरण, पर्यावरणका विषय र पीडित दलितको छुट्टै तथ्याङ्कलाई पनि समेट्न आग्रह गर्नुभयो ।