
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूका बारेमा मधेस प्रदेशका सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी र इन्सेकद्वार प्रदेशमा सञ्चालित कार्यक्रमहरूको बाह्य मुल्यांकनकर्ता सुरज आचार्यको टोलीले प्रदेश र स्थानीय सरकारका प्रतिनिधि तथा मावन अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिहरूसँग भेटी कार्यक्रमहरूको बारेमा छलफल गर्नु भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनीले मधेस प्रदेशमा मानव अधिकारको अभियानमा इन्सेकसँगको सहकार्य राम्रो रहेको बताउनु भयो । आफू मधेस प्रदेशमा भर्खरै आएकोले मानव अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरूसँगको समन्वय र सहकार्यलाई अगाडि बढाइरहेको उहाँले बताउनु भयो ।
खेलकुद तथा समाजकल्याण मन्त्रालयका प्रमुख महिला विकास अधिकृत देव कुमारी शर्मा खत्रीले महिला हिंसा, विपदका घटना, बालविवाह, घरेलु हिंसा, दाइजो प्रथा, बोक्सी र आत्महत्या जस्ता घटना अन्य प्रदेश भन्दा बढी यो प्रदेशमा रहेको बताउनु भयो ।

ऐन कानुन बन्छ, तर कार्यान्वयको अवस्था फितलो रहेको उल्लेख गर्नुहँुदै ऐन कानुन कार्यान्वय गर्ने सरोकारवाला निकायका व्यक्तिहरू नै बालविवाहमा सरिक हुने, दाइजो लिनेदिन र सरकारी कर्मचारीकै आमा बुवा बृद्धा आश्रममा राखिएको हुँदा मानवीय व्यवहार परिवर्तन गर्ने कार्यक्रमहरू मधेस प्रदेशमा अवश्यक रहेको उहाँको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले मानव अधिकारका सवाललाई इन्सेकले उठान गर्नुको साथै त्यस्ता सवालको समाधान कसरी गर्ने भनि निराकरण समेत दिने गरेको बताउनु भयो । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको निरन्तरता आवश्यक छ, यस वर्ष पुस्तकले मानव अधिकारप्रति सचेत गराउने गरेको उहाँले बताउनु भयो ।

डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रम पालिकामा प्रभावकारी देखिएको बताउनु भयो । इन्सेकले नगरमा गठन गरेको मानव अधिकार समूहको पहलमा नागरिकताबाट वञ्चित चार जना व्यक्तिले नागरिकता पाएको, नगर शिक्षा ऐन ल्याउने कार्यमा रचनात्मक भूमिका खेलेको, गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूमा अनुगमन गर्ने र विद्यालय व्यवस्थापन समिति गठनमा रचनात्मक भूमिका खेलिरहेको उहाँले जानकारी दिनु भयो ।

समाजमा विद्यमान दाइजो प्रथा, बालविवाह र छुवाछुतविरुद्ध मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहले टोल टोलमा सडक नाटक मार्फत अभियानहरू सञ्चालन गरी सचेतनाका कार्यक्रमहरू गरिरहेको नगर प्रमुख मलाह भनाइ थियो ।
डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले पालिकासँग समन्वय गरी मानव अधिकार अभियानहरू सञ्चालन गरिरहेको बताउनु भयो । नगरपालिकाले यस वर्ष समूहलाई मानव अधिकार अभियान सञ्चालन गर्न ५ लाख रुपियाँ छुट्याएकोले वडासम्म मनव अधिकार अभियानलाई प्रभावकारी बनाउने उहाँले बताउनु भयो ।
धनुषा जिल्ला मिथिला नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महत्तोले सूचना र जनचेतनाले घटनाहरू बाहिर आएको र हामीसँग आएपछि न्यायका लागि पहल गर्ने गरेको बताउनु भयो ।
समूहका कोषाध्यक्ष विणा कडारीले पीडितलाई इन्सेकबाट आर्थिक सहयोग प्रदान गरिएको, महिला हिंसा तथा घरेलु हिंसा पीडितलाई न्यायका लागि पहल गरिएको र नागरिकताबाट वञ्चित पीडितलाई नागरिकता बनाइ दिन पहल गर्ने कार्य इन्सेकसँगको समन्वयमा गरिरहेको बताउनु भयो ।
यसैबीच अनुगमन तथा मूल्यांकन टोलीले धनुषा जिल्ला मिथिला नगरपालिकामास्थित श्री महेन्द्र माध्यमिक विद्यालय, ढल्केवरमा गठित बाल अधिकार सचेतना समूहसँग भेटि मानव अधिकार शिक्षा कार्यक्रमको बारेमा जानकारी लिनु भएको छ । छलफलमा बाल अधिकार सचेतना समूहका अध्यक्ष सन्देश कुमार साहले लागु औषध यहाँको प्रमुख समस्या रहेको र बालविवाह, दाइजो प्रथा र छुवाछुतका घटनाहरू गाउँ समाजमा बढी हुने गरेको बताउनु भयो । लागु औषध नियन्त्रण, घरेलु हिंसा, दाइजो प्रथा र बालविवाहविरुद्ध सडक नाटक लगायत जनचेतनामूलक अभियानहरू सञ्चालन गरिरहेको उहाँले बताउनु भयो ।

