अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१ असोज २१ गते सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा शिक्षा क्षेत्रको मुख्य समस्या दरबन्दी अनुसारको शिक्षक नभएको, दिवा खाजाको नियमित अनुगमन नभएको, व्यवस्थापन समिति गठनमा राजनीतिकरण हुने गरेको, विद्यालयमा सेनेटरी प्याडको अभाव, शिक्षामा स्थानीय तहको अनुगमन नहुनु, विद्यालय स्तरमा खानेपानीको व्यवस्थापन नहुनु जस्ता समस्या पहिचान गरेको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा बिमा सम्बन्धी समुदायमा सचेतना नभएको, बिमा लागु भएका स्वास्थ्य केन्द्रमा सेवा लिन समस्या, लगायतका समस्या पहिचान भएको छ । वातावरण संरक्षणमा सडक नाला व्यवस्थापन नहुनु सही रूपमा फोहरमैला व्यवस्थापन नभएको, खोलाहरूमा र बाटोमा जथाभावी फोहर फाल्ने गरेको स्थानीय समुदायमा सरसफाइसम्बन्धी सचेतना निरन्तर नभएको जस्ता समस्या पहिचान गरेको छ ।
मायादेवि गाउँपालिकाका कार्यवाहक वडा अध्यक्ष अजिजुर रहमानले स्थानीय तहमा समस्या पहिचान र मानव अधिकार समूहको कार्ययोजना बैठकमा उठेका शिक्षा, स्वास्थ्य, वातावरण र विभेदको सवालहरूलाई स्थलगत अनुगमन गरी समाधानका लागि कार्यपालिका बैठकमा पहल गर्नेे र कार्यन्वयन गर्ने प्रतिबद्धता गर्नुभयो ।
मानव अधिकार समूहका अध्यक्षता सतीश प्रसाद पाण्डेले पहिचान गरिएका समस्याहरूको प्रभावकारी र कार्यान्वयन गर्न तथा समाधानका लागि सरोकारवालालाई ध्यानाकर्षण गराउने प्रतिबद्धता गर्नुभयो ।
