अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज २० गते राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।
राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष धनी वलीको अध्यक्षतामा बसेको बैठकले विगत ६ महिनामा मानव अधिकार समूहका पदाधिकारीहरूबाट गरिएको कार्यहरूको समीक्षा गर्दै कार्य योजना तयार गरेको छ ।

समूहको छलफलमा बैठकले स्थानीय तहमा वातावरण र मानव अधिकारको प्रत्यभूतिका लागि सहकार्य गर्न समन्वय बैठक बस्ने, फोहोरजन्य पदार्थ व्यवस्थापन गर्न र जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना मूलक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । वातावरणले पारेको असर र त्यसको न्यूनीकरणको लागि स्थानीय सरकारमा ध्यानाकर्षण गर्ने, वडा तहमा वातावरण सम्बन्धी बजेट छुट्याउन सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने र मानव अधिकार समूहका सदस्यहरूले आ-आफ्ना टोल र समुदायमा मानव अधिकार उल्लङ्घन र वातावरणीय प्रदुषण न्यूनीकरण गर्नका लागि अझै प्रभावकारी रूपमा आवाज उठाउँदै जाने निर्णय गरेको छ ।
समूहका अध्यक्ष वलीले वनमा आगो लागेका कारण समाजमा निकै प्रभाव पारेको बताउनु भयो । उहाँले वन विनाशका कारणले जङ्गलका जनावरहरू समाजमा छिर्ने र मानिसलाई आक्रमण गर्ने गरेको उल्लेख गर्नुभयो । सबै नागरिकलाई वातावरणको महत्त्व बुझाई सचेनाका जगाउनु मानव अधिकार समूहको उद्देश्य रहेको उहाँको भनाइ छ ।
मानव अधिकार समूहका सचिव प्रेम चौधरीले राप्ती सोनारी गाउँपालिकामा प्लाष्टिक जन्य वस्तु निकै प्रयोग भएको र यसको न्यूनीकरणमा सरकारवाला निकायको ध्यान नगएको बताउनु भयो ।

मानव अधिकार समूहका सह-संयोजक डम्बर बहादुर डाँगीले हरेक सामूदायिक ठाउँमा आफूहरूले वृक्षरोपण गरिरहेको बताउनु भयो । उहाँले सबै नागरिकहरूलाई समेत यसको महत्त्व बुझाई सचेत गराएको उल्लेख गर्नुभयो । यसरी वृक्षरोपण गर्दा पानीको सतह समेत बढेको अनुभव उहाँको सुनाउनु भयो ।
मानव अधिकार समूहका सदस्य तीला गिरीले वातावरण संरक्षणमा आफूहरूले वडा कार्यालय र गाउँपालिकामा समेत आग्रह गरेको बताउनु भयो । उहाँले बाटोमा छोडिएका जनावरलाई समेत व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मानव अधिकार समूहका सदस्य पार्वती नेपालीले वातावरण संरक्षणमा आफ्नो घरदेखि नै फोहोरको व्यवस्थापन र सरसफाइमा ध्यान दिन सके सबै नागरिकमा राम्रो उदाहरण हुने बताउनु भयो । उहाँले वडा कार्यलयलाई समेत फोहोर व्यवस्थापनको लागि पहल गरेको उल्लेख गर्नुभयो ।
मानव अधिकार समूहका अध्यक्ष गौरी खत्रीले बजारका पसलहरूले समय अवधि नागेको खाद्य वस्तु बिक्री वितरण गरेको थाहा पाएपछि आफूहरूले यसको अनुगमन गरेको बताउनु भयो । हरेक नागरिकलाई सरसफाइमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । राप्ती सोनारी गाउँपालिकाका टोल टोलमा वातावरण सम्बन्धी कार्यक्रम गर्न उहाँले आग्रह गर्नुभयो ।

इन्सेक संरक्षण परियोजनाका अधिकृत टेकनाथ आचार्यले अभिमुखीकरण गर्दै विद्यमान वातावरण र जलवायु परिवर्तनले समुदायमा पारेको समस्या समाधानका लागि बैठकमा भएको सहमति, निर्णय, तय गरिएका कार्य योजनाहरू र असल अभ्यासहरूलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।

मानव अधिकार समूहको क्षमता अभिवृद्धी र स्थानीय तहमा प्रभावकारी परिचालनको लागि मानव अधिकार समूहसँग छलफल गरिएको अधिकृत आचार्यले जानकारी दिनुभयो । उहाँले वातावरण संरक्षण प्रत्येक घरघरबाट सुरु गर्नुपर्ने र वातावरण संरक्षण ‘मेरो दायित्व हो’ भनेर नागरिकहरूले आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिनुभयो ।


