INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मी एवम् इन्सेक जिल्ला प्रतिनिधि रावल सम्मानित

मानव अधिकारकर्मी एवम् इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल सम्मानित हुनुभएको छ । लामो समयदेखि मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउँदै आउनुभएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ०८१ ले सम्मान गरिएको हो ।

Photo05102024Jumla.

मानव अधिकारकर्मी तथा पत्रकार रावल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नयाँ पत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ । उहाँ महिला बालबालिका, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका साथै आधारभुत मानव अधिकारका सवालमा कलम यात्रा गर्दै आउनु भएको छ ।

लामो समयदेखि भुइमान्छेका कथा व्यथा लेख्दै निमुखाहरूको आवाज बुलन्द गरेर आवाज विहीनहरूको अधिकार स्थापित गर्नको लागि भूमिका रहेकोले रावललाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँलाई १० हजार रुपियाँ नगद राशीसहित सम्मान पत्र प्रदान गरिएको छ । थप क्रियाशिलताको प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।’

गाउँ समाज काम गर्दै आएका व्यक्तिहरूलाई मुल्याङ्कन गरी मानव अधिकारकर्मी तथा पत्रकार रावललाई सम्मान गरिएको विश्लेषक तथा पुरुस्कार छनोट समितिका सदस्य रामसिंह रावलले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भन्नुभयो, ‘यस्ता सम्मान तथा पुरस्कारले मानव अधिकार एवम् पत्रकारिता क्षेत्रमा क्रियाशिलता ल्याउने गर्दछ । पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई यस्ता सम्मानले थप उर्जा मिल्छ ।’

गाउँपालिका महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले भन्नुभयो, ‘लामो समयदेखि निश्पक्ष रूपमा मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा रावल काम गर्दै आउनु भयो । यो सम्मान तथा पुरस्कारले थप क्रियाशिलता ल्याउने अपेक्षा गरिएको छ ।’ यो पुरस्कार तेस्रो संस्करण हो ।

Photo05102024Jumla

अन्य

भिडियो