मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतकी अध्यक्ष ममता नगालको ज्यानको सुरक्षाका लागि सुर्खेत स्थित विभिन्न मानव अधिकार सङ्घसंस्थाले ०८१ असोज ४ गते जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई ध्यानाकर्षण गराएका छन् ।
चिंगाड गाउँपालिका–८ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–८ मा बस्दै आउनुभएकी घरेलु हिंसापीडित टिका भण्डारीलाई कानुनी प्रक्रियामा जानका लागि सहयोग गर्दा सोही ठाउँ बस्ने ४२ वर्षीय दिपक भण्डारीले ०८१ असोज १ गते राति ८ बजे अध्यक्ष नगलाको घरमा आइ ज्यान मार्ने धम्की दिएपछि पीडितले असोज २ गते जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनुभयो । आरोपितलाई प्रहरीले सोही दिन कार्यालयमा बोलाई छलफल गराएपछि भण्डारीले माफी मागेपछि मिलापत्र भएको थियो ।
तर, पछिल्ला दिनहरूमा समेत आरोपितले विभिन्न व्यक्तिहरूसँग समेत धम्की दिने गरेपछि सुरक्षाको व्यवस्थापन गर्न मानव अधिकारवादी सङ्घ संस्थाहरूले निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो । लामो समयदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएकी नगालको ज्यानको सुरक्षाको लागि निवेदन समेत दिइएको उहाँले जानकारी दिनुभयो ।
आफूले हिंसा पीडितलाई कानुनी प्रक्रियामा सहयोग गरेवाफत धम्की आएको भन्दै सुरक्षित महसुस गराउने गरी प्रशासनले सुरक्षा मिलाइदिन अध्यक्ष नगालले अनुरोध गर्नुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी पाण्डेयले सुरक्षाको विषयमा प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो । प्रशासनमा इन्सेक, दलित महिला सङ्घ (फेडो) सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) नवकिरण र सुन्दर नेपाल संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

