अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा ०८१ भदौ २६ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

इन्सेक जिल्ला सहजकर्ता कलमबहादुर नेपालीले मानव अधिकार समूहले गुणस्तरीय शिक्षा नहुनु, दलित बालबालिकाले प्रावि तहमा विद्यालय छोडने समस्या, पिउने पानी स्वच्छ नहुनु लगायतका समस्याहरू पहिचान गरेको बताउनु भयो । उहाँले अपाङ्गमैत्री स्वास्थ्य कार्यालय स्थानीय तहमा नहुनु, सोधपुछ कक्ष व्यवस्थित नहुनु, वातावरण संरक्षणमा सडक नाला व्यवस्थापन नहुनु र विभेद विरुद्धको अधिकारमा छाउपडी, जातीय विभेद र लैङ्गिक विभेदका समस्या पहिचान गरिएको बताउनु भयो ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाको कार्यपालिका सदस्य सुनिता विकले स्थानीय तहमा समस्या पहिचान र मानव अधिकार समूहको कार्ययोजना बैठकमा उठेका शिक्षा, स्वास्थ्य, वातावरण र विभेदको सवालहरूलाई कार्यपालिकामा उठाउने र कार्यन्वयन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त बैठकमा जयदेव माविका प्रधानाध्यापक तिलकप्रसाद शर्माले समस्या पहिचानको कार्ययोजनालाई प्रभावकारी र कार्यन्वयन गर्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो । बैठकको अध्यक्षता मानव अधिकार समूहका अध्यक्ष बालिराम जैसीले गर्नुभएको थियो भने बैठकको सहजीकरण इन्सेक सहजकर्ता कलमबहादुर नेपालीले गर्नुभएको थियो ।
