अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ भदौ २५ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षकोको बैठकले पाँच जना हिंसा पीडितहरूलाई कानुनी प्रकियामा जानका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले आर्थिक सहयोगका लागि आएका पाँच ओटा घरेलु हिंसासम्बन्धी निवेदनहरूमा गुराँस गाउँपालिका–५, गोगनपानीकी टिका दमाईलाई ९ हजार रुपियाँ, कालिकोट रास्कोट नगरपालिका–२ की मोतिपुरा कुमारी अधिकारीलाई ७ हजार रुपियाँ र कालिकोटकै पचालझरना गाउँपालिका–१ की सरिता खड्कालाई ९ हजार रुपियाँ इन्सेक मार्फत सहयोग गर्ने र दलित महिला सङ्घ (फेडो) मार्फत सुर्खेतको बराहताल गाउँपालिका–८ की सिताकुमारी विष्टलाई ५ हजार रुपियाँ र वीरेन्द्रनगर नगरपालिका–१ की इन्द्रकली सुनारलाई ७ हजार रुपियाँ कानुनी प्रक्रियामा जानका लागि सहयोग गर्ने निर्णय गरिएको इन्सेकका संयोजक नारायण सुवेदीले बताउनु भयो ।
उहाँका अनुसार घरेलु हिंसा पीडित र आर्थिक समस्याकै कारण कानुनी उपचारमा जान नसकेकालाई मानव अधिकार सहायता कक्षले विगतदेखि नै सहयोग गर्दै आएको बताउनु भयो । उहाँले पीडितलाई यातायात, फोटोकपी र अदालतमा लान्ने शुल्क र खाजा खर्च बापत आर्थिक सहयोग गर्दै आएको बताउनु भयो । पीडितले विभिन्न समयमा आर्थिक सहायताका लागि इन्सेकमा निवेदन दिएका थिए ।
उच्च बार एशोशियसन, सुर्खेतका अध्यक्ष दुर्गा सापकोटाले सहायता कक्षको सहयोगका कारण वास्तविक पीडितलाई राहत मिलेको बताउनु भयो । त्यस्तै फेडोकी सुर्खेत सचिव खगिसरा ओलीले अझैपनि गाउँघरमा मुद्दा लेखाउने समेत आर्थिकको समस्या हुँदा प्राय घटनाहरू लुकेर बसेको बताउनु भयो । त्यस्तै सिमान्तकृत महिलाहरूका लागि महिला संस्था वामकी कार्यकारी निर्देशक मधुरानी ढकालले सानो सहयोगले पनि पीडतलाई न्यायमा सहज हुने बताउनु भयो ।
मानव अधिकार सहायता कक्षको बैठकका सहभाागीहरूले मानव अधिकार उल्लङ्नका घटनाहरूमा दिँदै आएको ज्ञापन पत्र, ध्यानाकर्षण पत्र लगायतलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।

