नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व बाँकेमा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार २० गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत भएको थियो । बाँके जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म भएका ७० ओटा घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनाहरूमा बलात्कार २० ओटा, यौन दुर्व्यवहार तीन ओटा, दुर्व्यवहार ११ ओटा, हत्या ६ ओटा, घाइते ६ ओटा, धम्की दुई ओटा, कारागारमा मृत्यु एक ओटा, मानव बेचबिखन तथा ओसारपसार तीन ओटा, मानव बेचबिखन तथा ओसारपसार प्रयास एक ओटा, कथित बोक्सी आरोप एक ओटा, बहुविवाहका १० ओटा र घरेलु हिंसा चार ओटा रहेको छ ।
कार्यक्रममा बोल्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले मानव अधिकार उल्लङ्घन तथा ज्याततीका घटनामा महिला तथा बढी बालबालिका पीडित हुने गरेको इन्सेक प्रकाशन गर्ने वर्ष पुस्तकका लागि सङ्कलित घटनाको अभिलेखबाट देखिएको बताउनु भयो । उहाँले बाँके जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० ओटा घटनामा राज्यपक्षबाट दुई जना र अन्य पक्षबाट ६८ जना पीडित भएको जानकारी दिनुभयो ।
यसले कतिपय अवस्थामा कानुनी प्रकृयाबाट न्यायिक उपचार हुने तथा अपराधिक घटनालाई मानव अधिकार उल्लङ्घनका घटनामा जोड्न नहुने सहभागीको गुनासोमा उहाँले राज्यको दायित्व शान्ति सुरक्षाकायम गर्नु भएको र सो को समुचित व्यवस्था नहुँदा नै मानव अधिकार उल्लङ्घनाका घटनामा बालबालिका तथा महिला पीडित हुने गरेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर यमबहादुर बुढामगरले प्रहरीले घटनाको प्रकृति हेरेर काम गर्नुपर्ने अवस्था भएकाले प्रहरीकहाँ आएका सबैजसो उजुरीहरू दर्ता हुन नसक्ने प्रष्ट पार्नुभयो । इन्स्पेक्टर मगरले प्रहरीले सय अपराधी छुटोस् तर एक निर्दोश नपरोस् भन्ने मान्यताबाट काम गर्नुपरेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज शाखा कार्यालयका प्रमुख द्वारिका अधिकारीले पीडितको न्यायका लागि आवश्यक ऐन कानुन बनाउने प्रदेश सरकारले समेत सरोकार निकायसँग समन्वय नगर्नाले कानुन कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो । उहाँले इजालसमा पुगेका कतिपय विषयका बारेमा प्रदेश सरकारले बनाएको कानुन जानकारी न्यायाधीश र वकिलमा नहुँदा यसले न्यायिक प्रकृयालाई नै असर पुर्याएको धारणा राख्नु भयो ।

