INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि इलाम जिल्लामा सङ्कलित घटनाहरूको  अर्धवार्षिक समीक्षा कार्यक्रम असार १९ गते इलाममा सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका ६ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

इन्सेकले सङ्कलन गरेको घटनामाथि त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।

इलाम जिल्ला प्रतिनिधिले जिल्लामा ६ महिनादेखिका घटनालाई प्रस्तुत गर्नुभएको थियो । इन्सेकले इलाम जिल्लामा सन् २०२४ जनवरीदेखी जुनसम्म ३२ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको छ । बलात्कारका १२ ओटा घटना अभिलेख गरिएका छन् । ती मध्ये बालिका बलात्कारका सात ओटा र महिला बलात्कारका पाँच ओटा छन् । त्यसैगरी हत्याको दुई र परिवारजनबाट हत्याको एक ओटा अभिलेख गरिएको छ । घरेलु हिंसाका सात र अभद्र व्यवहारको दश ओटा घटना इन्सेकले अभिलेख राखेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले अन्य जिल्लाको तुलनामा इलाममा मानव अधिकार उल्लङ्घनका घटना कम नै देखिएपनि घटना शूण्य बनाउनतर्फ सबै सचेत बन्नुपर्ने बताउनु भयो । ‘तराईका जिल्लामा हेरी यहाँको अवस्था त सामान्य नै छ । तर, यसलाई शूण्य बनाउन हामी जुट्नपर्छ ।’ प्रमुख जिल्ला अधिकारीले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुले इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएका डाटा र छलफलमा उठेका अन्य मानव अधिकारका विषयमा प्रहरी सचेत भएर अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले इन्सेकले मावनअधिकार रक्षाका लागि उल्लेखनीय काम गरेको बताउनु भयो । जिल्लामा मानव अधिकारको अवस्था कस्तो रह्यो भन्ने कुरा इन्सेकको अभिलेखले सङ्केत उहाँको भनाइ थियो । स्थानीय सरकार मानव अधिकार रक्षाका लागि शसक्त भएर काम गरिरहेको उहाँको भनाइ छ ।

मानव अधिकार मञ्च नेपाल, इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले इन्सेक र मञ्चले सँधै सहकार्य गर्दे आएकाले इलाममा मानव अधिकारको अवस्था सरोकारवालालाई बुझाउन सहज हुने गरेको बताउनुभयो । उहाँले सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारका विषयमा छलफल भइ रहनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले मानवअधिकार उल्लङ्घनमा राज्य संलग्न हुने र अपराधमा आम मान्छेको संलग्नता हुने बताउनु भयो । ‘प्रहरीमा सहजै उजुरी दर्ता नहुनु पनि मानवअधिकार उल्लङ्घन हो’ उहाँले बताउनु भयो । उहाँले इन्सेकले आगामी दिनमा अझ परिस्कृत हुँदै डाटाहरु प्रस्तुत गर्दा राज्यपक्षबाट भएका घटनालाई छुट्टै अभिलेख गर्न अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लप भट्टराईले इन्सेकले सङ्कलन गरेका घटनालाई राज्यले सचेत भएर आगामी दिनमा यस्ता घटनालाई न्यूनीकरण गर्न लाग्नुपर्ने बताउनु भएको छ ।

नेपाल बार एशोसिएसन इलामका अध्यक्ष तारानाथ पराजुलीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने वर्ष पुस्तकले मानव अधिकारको अवस्था उजागर हुने भएकाले जनशक्ति थप गरेर सुक्ष्म अध्ययनमा लाग्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर सरकारी तथा गैरसरकारी निकाय बढी उत्तरदायी बन्नुपर्ने बताउनु भएको छ ।

जिल्ला कारागार इलामका प्रमुख गौरभ ढुङ्गेलले इन्सेकले राज्यतर्फबाट भएका अपराधका घटनाका सम्बन्धमा बढी चासो राख्नुपर्ने सुझाव दिनुभएको छ ।  राज्य मानवअधिकारका कुरामा गम्भीर र संयमित हुन आवश्यक रहेको उहाँले सुनाउनु भयो । मानव अधिकारकर्मी मनकुमार बराइलीले तीन तहका सरकारले लक्षित समुदायमा बजेट कम छुट्याएर अन्याय गरेको भन्दै यस विषयमा इन्सेकले वकालत गरिदिन आग्रह गर्नु भयो । कार्यक्रममा उपस्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले इन्सेकले समेट्ने मानवअधिकारका घटनाहरुमा समाजमा भएका भ्रष्टाचार र बेथितिहरुलाई पनि समेट्नुपर्ने सुझाव दिएका छन् ।

Photo 20240703 Ilam (1)

Photo 20240703 Ilam (2)

Photo 20240703 Ilam (3)

Photo 20240703 Ilam (4)

अन्य

भिडियो