नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व बर्दियामा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार १३ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक बर्दियाका जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारीको रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बर्दिया जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म भएका ९६ ओटा घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनाहरूमा बहुविवाहको चार ओटा घटना, महिला अधिकार अन्र्तगत बलात्कारका १३ ओटा घटना, बलात्कार प्रयासका दुई ओटा घटना, यौन दुर्व्यवहारका एक ओटा घटना, बाल अधिकार अन्तर्गत बलात्कारको १५ ओटा घटना, यौन दुर्व्यवहारको एक ओटा घटना, मानव बेचबिखन तथा ओसारप्रसारको दुई ओटा घटना, आत्महत्या दुरुत्साहनको एक ओटा घटना, घरेलु हिंसाका ३५ घटना, न्यायिक मृत्युको एक ओटा घटना र अन्य १४ घटना रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीको रुद्रादेवी शर्माले इन्सेकले सङ्कलन गर्ने मानव अधिकार उल्लङ्घनको घटनामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग जोडिएर तथ्याङ्क बाहिर ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरी तत्काल पक्राउ गर्न सफल हुने भएकोले पनि बर्दिया हुने मानव अधिकारको उल्लङ्घनका घटनामा प्रहरी प्रशासन सम्बेदनशिल रहेको बताउनु भयो । उहाँले मानव अधिकार हननका घटना हुन नदिन समुदायमा जनचेतना जगाउन जरुरी रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यलयका एसपी प्रवीण धितालले प्रहरीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने घटनाको अभिलेख सङ्कलन गर्दा सरोकारवाला निकायसँग छलफल गर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘केहीले मानव अधिकार उल्लङ्घन भयो भन्नुहुन्छ, तर प्रहरीमा जाहेरी दिनुहुन्न । मानव अधिकार उल्लङ्घन लगायतमा अन्य घटनामा हुने अनुसन्धान गर्न प्रहरी गम्भीर र जिम्मेवार रहेको छ ।’ मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन सरोकारवाला निकायले आ–आफ्नो स्थानबाट योगदान गर्न जरुरी रहेका एसपी धितालले बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता नरेन्द्र लम्सालले बर्दियामा बलात्कार घटनामा मेलमिलाप गराउन खोज्नेहरूलाई समेत मुद्धा चलाइएको बताउनु भयो । उहाँले साना बालबालिका परिवारका सदस्य, आफन्त वा नजिक भएका व्यक्तिबाट पीडित हुने गरेको बताउनु भयो । उहाँले महिला बालबालिका माथि हुने विभिन्न घटनाहरू के कति कारण हुने गरेको छन्, त्यसको बारेमा खोज अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा बर्दिया जिल्ला अदालत शाखा अधिकृत तथा सूचना अधिकारी अमृता केसी, नेपाल बार एशोसियसनका अध्यक्ष तथा अधिवक्ता कमल प्रसाद पाण्डे, नागरिक समाज सञ्जालको संयोजक हिमा सुनार, गैरसरकारी महासङ्घको कोषाध्यक्ष बिभा विक द्वन्द्वपीडित समिति, बर्दियाका कार्यक्रम संयोजक मानबहादुर चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो ।



