तनहुँमा स्वास्थ्य बीमा गर्ने नागरिकलाई औषधिको अभाव भएको छ । बीमा गरेबापत निशुल्क रूपमा पाउने औषधि दमौली अस्पतालमा अभाव भएको हो । सरकारले गत आर्थिक वर्ष ०७२/७३ देखि सामाजिक सुरक्षा कार्यक्रम अर्न्तर्गत स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरेको थियो ।
पहिलो वर्षकैलाली, बाग्लुङ र इलाम जिल्लाबाट सुरू गरिएको कार्यक्रम आर्थिक वर्ष ०७३/७४ मा तनहुँसहित थप २५ जिल्लामा सुरू गरिएको थियो । स्वास्थ्य उपचारमा खर्च हुने आर्थिक भारलाई कम गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।
परिवारमा आधारित यो कार्यक्रममा पाँच जना सम्मको एउटा परिवारले वार्षिक २ हजार ५ सय रुपियाँ तिरेर सदस्य बन्न सक्ने छन् । यो बीमाको सदस्य बनेपछि एक वर्षभित्रमा ५० हजार रुपियाँसम्मको उपचार र औषधिको पैसा तिर्नु पर्दैन ।
तर, तनहुँमा स्वास्थ्य बीमा गरेका नागरिकहरूले दमौली अस्पतालबाट पाउनुपर्ने निशुल्क औषधिहरू अभावको कारण प्राप्त गर्न सकेका छैनन् । दमौली अस्पतालको फार्मेसीमा औषधिको अभावको कारण सेवाग्राहीले पाएका छैनन् ।
व्यास नपा-१ का श्यामबहादुर थापाले आफूले स्वास्थ्य बीमा गरेपनि अस्पतालको फार्मेसीबाट औषधि नपाएको बताए । उनले उक्त औषधि बाहिर निजी पसलबाट खरिद गर्नु परेको गुनासो गरे ।
जिल्ला स्वास्थ्य कार्यालय तथा दमौली अस्पतालका प्रमुख डा. पवनजङ्ग रायमाझीले अस्पतालको फार्मेसीमा औषधिको अभाव भएको कारण सबै नागरिकलाई निशुल्क औषधि दिन नसकिएको बताए ।
विगतमा जिल्ला स्वास्थ्य कार्यालयले नै औषधिको टेण्डर गरेर औषधि खरिद गर्ने व्यवस्था भएपनि यस वर्ष सबै बजेट स्थानीय तहमा गएको र व्यास नगरपालिकाबाट औषधि खरिदको लागि पर्याप्त बजेट नपाएका कारण औषधि पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको बताए ।
धेरै अनुरोधपछि केही दिनअघि व्यास नपाले औषधि खरिदको लागि ५ लाख रुपियाँ उपलब्ध गराएको भन्दै डा. रायमाझीले उक्त औषधि एक सातामै सकिएको बताए । दमौली अस्पताललगायत जिल्लाका प्राय सबै स्वास्थ्य चौकीहरूमा अहिले निशुल्क वितरण गरिने र अत्यावश्यक औषधिको अभाव भएको डा.रायमाझीले बताए ।
स्थानीय तहहरूले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्दा औषधिको अभाव भएको उनको भनाइ छ । दमौली अस्पतालमा दैनिक २० जना भन्दा बढी स्वास्थ्य बीमा गर्ने सेवाग्राही उपचारका लागि आउने गर्छन् ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले औषधिको अभावको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको र त्यसो भएमा तत्काल पर्याप्त बजेट विनियोजन गर्ने बताईन् ।