अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ को लागि संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग अर्धवार्षिक समीक्षा सम्पन्नभएको छ । सन् २०२४ जनवरीदेखि जुनसम्म संकलन गरिएका घटनाहरुको बारेमा समीक्षा गरिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भयो । इन्सेक प्रतिनिधि कार्कीका अनुसार जनवरीदेखि जुनसम्म ३३ ओटा घटना इन्सेकमा अभिलेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले अधिकार कार्यान्वयनमा सबै लाग्नुपर्ने धारणा राख्नु भयो । अधिकार छ, तर दायित्व पनि छ भनेर भुल्नु हुँदैन् उहाँले भन्नु भयो । जिल्लामा रहेका सरोकारका विषयमा सबैले लाग्नु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी शिवबहादुर सिंहले इन्सेकले गर्ने हरेक प्रकाशन तथा मानव अधिकार विषयहरु प्रहरीले गम्भीरताका साथ अध्ययन गर्ने गरेको बताउनु भयो । हामीलाई केन्द्रकै निर्देशनअनुरुप मानव अधिकारसँग सम्बन्धित विषयहरु अध्ययन गर्न लगाइन्छ । इन्सेकले गरेका गतिविधि हामीलाई पनि सिकाईको रुपमा हुने उहाँको भनाइ छ । उहाँले भन्नु भयो, अहिले कारगारको अवस्था दयनीय छ । उनीहरुको अवस्था भौतिक पूर्वाधारको अवस्था बारे प्रकाशन गर्न आग्रह गर्छु ।
दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं महिला अधिकारकर्मी धाना धामीले सम्बन्ध विच्छेदका घटनाका कारण बालबालिकाको मानसिक असर पर्ने गरेको भन्दै यसतर्फ राज्यको ध्यानाकर्षण हुनु पर्ने बताउनु भयो ।
अधिवक्ता हरिशचन्द्र जोशीले बालविवाहका कारण सम्बन्धविच्छेद बढ्ने गरेको धारणा राख्नु भयो । आर्थिक कारण र निरक्षरताका कारण पनि सम्बन्धविच्छेदका घटना बढेकोले यसतर्फ राज्यका निकाय गम्भिर हुनु पर्ने उहाँले बताउनु भयो ।

नागरिक समाजका अध्यक्ष महेश भट्टले खोलाको बालुवामा आश्रित महिलाहरुको अवस्था बारे प्रतिवेदनमा समेट्न सुझाव दिनु भयो । धेरै महिलाहरु अहिले पनि महाकालीको बालुवा गिट्टीमा आश्रित छन् । उनीहरुको दैनिकी सधै जोखिममा पनि छ । तर, स्थानीय सरकारले त्यसतर्फ चासो दिएको देखिदैन्, उहाँले भन्नु भयो ।स्वास्थ्य कार्यालय, दार्चुलाका खोप सुपरभाइजर बीरेन्द्र भट्टले जिल्लाभरिका अधिकांश स्वास्थ्यकर्मीले चार महिनादेखि काम गरेबापतको तलब सुविधा पाउन नसकेको गुनासो गर्नु भयो । कोभिडदेखि पुलभन्सारमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब सुविधा नपाएको, अन्य कर्मचारीले पनि चार महिनादेखि तलबसुविधा पाउनबाट वञ्चित हुनुपरेकोले समस्या सिर्जना हुने उहाँको भनाइ छ ।
पत्रकार महासंघ, दार्चुला अध्यक्ष कृष्णसिह धामीले शिक्षामा भइरहेको व्यापारीकरण, स्वास्थ्य र नीजि मेडिकलहरुमा औषधिमा भइरहेको बदमासी बारे अनुगमन गर्नु पर्ने बताउनु भयो ।