अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतद्वारा सञ्चालित मानव अधिकार शिक्षा परियोजना कार्यक्रम अन्तर्गत दुल्लू नगरपालिकामा गठित मानव अधिकार समूहले वैशाख २१ गते दुल्लू नगरपालिकाको कार्यालयलाई दलित सशक्तिकरण ऐन बनााउन माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ ।
दुल्लू नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजाललाई उहाँको कार्यकक्षमै पुगी मानव अधिकार समूहका साथ दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित सेवा संघ लगायत नागरिक समाजका अगुवाहरु समेतले ध्यानाकर्षण पत्र बुझाइएको बताइएको छ ।
उपप्रमुख विना कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक बिक समेतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझिसकेपछि नगरप्रमुख रिजालले दलित सशक्तिकरण ऐन ल्याउने र दलित समुदायको कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्न बजेटको व्यवस्था गर्न आगामी नगरसभाका प्रयास गर्ने बताउनु भयो ।
मानव अधिकार समूहका संयोजक दुर्गे नेपाली, सदस्यहरु सुशीला योगी, गणेश नेपाली, अञ्जू दाहाल, मनिषा खनाल, मोतिकला कार्की, दलित सेवा संघका अध्यक्ष पूर्ण परियार, कोषाध्यक्ष दिपक बिक लगायतका नागरिक अगुवाहरुले ध्यानाकर्षण पत्र बुझाएकाे मानव अधिकार शिक्षा परियोजनाका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।

