INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते खलंगामा सम्पन्न भएको छ ।

प्रकाशनपूर्व वार्षिक घटना समिक्षा कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले मानव अधिकारको रक्षाको लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मानव अधिकार हनन् कसरी रोक्ने भन्ने चुनौतीको बिषय भएको भन्दै उहाँले टोलबस्तीमा पुगेर सचेतीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला अदालत सल्यानका श्रेष्तेदार नारायण प्रसाद चापागाईले आमाबुवाको सम्बन्ध विच्छेद पश्चात बालबालिका पिडित भएका घटना धेरै हुनेगरेकाले उनीहरुको उचित व्यवस्थापनका लागि पहल गरिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नविन कार्कीले जघन्य घटनाका पिडितहरुको नाम सार्वजनिक गर्दा उसको व्यक्तिगत जीवनमा असर पर्ने भएकाले यसलाई सुधार गरेर अघिबढ्नुपर्ने बताउनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय सल्यानका सहायक जिल्ला न्यायाधिबक्ता बिष्णु प्रसाद गौलीले बिभिन्न घटनाका पिडित घरदेखी उजुरी दिनका लागि सम्बन्धित कार्यालयमा आउन्जेल सम्म उसको कुरा बदलिने गरेको पाइएकाले कानुनी पराशर्म दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बुद्धिमान पुनले एक बर्षको अवधिमा सल्यानमा मानव अधिकार उलंघन तथा ज्यादतीका ९४ ओटा घटना भएको तथ्यांक सार्वजनिक गर्नुभयो । जसमा सबै भन्दा धेरै माहिला तथा बालबालिकामाथि ज्यादतीका घटना हुने गरेको पाइएको छ ।

उहाँका अनुसार जिल्लाभर कुटपिटका पाँच ओटा घटना भएका छन् । यस्तै गरी हत्याका १० वटा घटना भएका छन् भने बाल अधिकार तर्फ बलात्कारका ९ ओटा र यौन दुव्र्यवहारका एक ओटा घटना भएका छन् । यस्तै महिला अधिकार तर्फ घरेलु हिंसाका ३८ ओटा, बहुविवाहका १६ ओटा, बलात्कारका १४ ओटा र बोक्सी आरोपका एक ओटा घटना भएका छन् ।

मानव अधिकार रक्षक सञ्जाल सल्यानका संयोजक मुना हमालको अध्यक्षतामा भएको कार्यक्रममा कारागार कार्यालय सल्यानका जेलर भिम बहादुर घर्ती, अधिवक्ता बिष्णु शर्मा, मानव अधिकारकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Photo20231219Salyan (1)

Photo20231219Salyan (3)

Photo20231219Salyan (2)

 

 

अन्य

भिडियो