INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम ०८० पुस १ गत जिल्ला सदरमुकाम अमरगढीमा सम्पन्न भएको छ ।

इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि शेरबहादुर भण्डारीले सन् २०२३ को जनवरीदेखि नभेम्वरसम्ममा जिल्लामा भएका ४५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँगै जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको संकलन र अभिलेखिकरण कार्यले मानव अधिकारको संरक्षण गर्न राज्यलाई थप सहयोग पुग्ने गरेको बताउनु भयो ।

इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकमा दुरदराजका घटनाहरुलाई पनि समावेश गर्न आवश्यक भएको उहाँले सुझाव दिनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने केही घटनाहरु अपराधिक प्रकृतिका भएकाले अपराध नियन्त्रण तथा रोकथामका लागि समेत आफूहरुलाई सहज हुने गरेका जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दिपककुमार कार्कीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘विकट बस्तीमा भइरहेका घटनाहरू बाहिर आउन नसकेको अवस्था छ । छाउपडी, छुवाछुत जस्ता कुप्रथा अझै पनि हट्न सकेको छैन् । मानव अधिकारको संरक्षण सम्वर्धन गर्ने हामी प्रतिवद्ध छौँ । इन्सेकको भूमिका पनि प्रशंसायोग्य छ ।’

महिला अधिकारकर्मी पदमा भण्डारीले महिलामाथि हुने हिंसाका घटनाहरु व्यापक रुपमा भइरहेका भए पनि सबै घटनाहरु सार्वजनिक नहुँने बताउँदै महिला हिंसा अन्त्यका लागि सबै सरोकारवाला पक्षहरुले सयुक्त रुपमा अभियान सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

पत्रकार केशव भण्डारीले ग्रामिण भेगमा भएका मानव अधिकार उल्लङ्घनका घटना बाहिर नआउने भएकोले त्यसतर्फ पनि ध्यान पु¥याउनु पर्ने सझाव दिनु भयो ।

अधिवक्ता बिष्णु भट्टले स्थानीय तहसँग समन्वय  र सहकार्य गरेर मानव अधिकार सम्वर्धनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताउनु भयो ।

अमरगढी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तीर्थबहादुर ऐरले मानव अधिकारको संरक्षण र सम्वर्धनका लागि इन्सेकसँग सहकार्य गरेर काम गर्न आफू तयार रहेको बताउनु भयो ।

photo20231217dadeldhura

अन्य

भिडियो