नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा सम्पन्न कार्यक्रम म्याग्दीमा पुस १ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा म्याग्दीमा सन २०२३ जनवरी देखि हाल सम्मको अवधिमा २६ ओटा मानवअधिकार उल्लङ्न तथा ज्यादतीका घटनाहरु अभिलेखिकरण गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले इन्सेकले अभिलेखिकरण गर्ने कार्य राम्रो संग गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘इन्सेकले गर्ने काम आफ्नो तबरले राम्रो गरेको छ त्यसमा हामीले गर्नु पर्ने भएमा हामी पनि गर्छौ ।’ हरेक प्रकारका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको सबै भन्दा ठूलो अभिलेखालय इन्सेक रहेको बताउँदै उहाँले यस्तो कार्यलाई निरन्तरता दिइ रहनु पर्नेमा जोड दिनुभयो ।

नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठले नागरिकको अधिकार सुनिश्चितताका लागि राज्य जिम्मेवार हुने बताउनुभयो । उहाँले कतिपय हिंसाका घटनाहरु गाउँघरमै दबेर रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हिंसा पीडितले न्याय पाउनु पर्छ त्यसका लागि सचेतनाको आवश्यकता छ ।’
महिला मानवअधिकार रक्षक सञ्जालकी संयोजक विष्णु गौतमले ग्रामिण भेगमा घरेलु हिंसाका घटनाहरु निकै बढेको तथ्यहरुले देखाएको बताउनुभयो । हिंसाका घटनाहरुका बारेमा राज्यका निकायमा उजुरी समेत अहिले संख्यात्मक तबरले बढेको बताउनुभयो ।
कार्यक्रममा द्वन्द्व पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजाल, सेनानी प्रकाश घिसिङ, सशस्त्र प्रहरी बलका निमित्त गुल्मपति रामचन्द्र खड्का, राप्रपाका सचिव देवेन्द्र घिमिरे लगायतले बोल्नुभएको थियो ।