INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २९ गते नवलपुरको कावासोतीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२३ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । इन्सेकको अभिलेख अनुसार नवलपरासी पूर्व नवलपुरमा सन २०२३ को जनवरी देखि डिसेम्बर सम्मको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका  ३८ ओटा घटना अभिलेख भएको  जिल्ला प्रतिनिधि पंगेनीले जानकारी गराउनुभयो । यस वर्ष अभिलेख गरिएका ३८ ओटा घटनामा सबै  गैर राज्य पक्षबाट पीडित भएका छन् । हत्या एक, कुटपिट ९ , आगजनी एक, बलात्कार दुर्व्यवहार १७, अमानवीय व्यवहार एक , महिला विरुद्धका घरेलु हिंसा आठ , बहुविवाहका एक रहेको  पंगेनीले बताउनुभयो । जिल्लामा बलात्कार र यौनहिंसाका घटना बढि भएको छ । त्यसमा पनि परिवारकै सदस्यबाट यौनहिंसामा परेका जघन्य प्रकृतिका घटना भएका छन् । ६ वर्षकी बालिकादेखि ५७ वर्षकी महिला समेत यौन हिंसाबाट पीडित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका  प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले कार्यक्रममा बोल्दै जिल्लामा बालिका र महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था निकै डरलाग्दो देखिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले यौनजन्य हिंसालाई न्यूनिकरण गर्नकै लागि विद्यालयहरूमा सचेतनाको कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । अन्य ठूलाखालका कुनै अप्रिय घटना जिल्लामा नभएपनि महिला बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको उहाँले बताउनुभयो । उहाँले  द्वन्द्वको समयमा इन्सेकले मानव अधिकारको  सवालमा निकै राम्रो काम गरेको स्मरण गर्दै मानव अधिकार रक्षाको लागि इन्सेकसँग आफू समेत सहकार्य गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेकले मानव अधिकार उल्लङ्घनको घटनाहरू अभिलेख गर्दै जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन मद्दत गर्दै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पुरुष समेत हिंसामा परेको घटनाहरू समाजमा देखिने गरेको भन्दै पुरुषमाथि भएका हिंसालाई पनि इन्सेकले अभिलेख गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा एमनेष्टी इन्टरनेशन नेपाल नवलपुरका उपाध्यक्ष हरि आचार्यले मानव अधिकारको रक्षा गर्न सरोकारवाला सबै पक्ष एक भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले मानव अधिकारको रक्षाका लागि काम गर्ने सङ्घ संस्थाहरूले एकआपसमा सहकार्य गर्दै सचेतनाका काम र न्यायका लागि पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी,  जागृती बाल तथा युवा सरोकार, एमनेष्टी इन्टरनेशनले, मानव अधिकार समूहका प्रमुख प्रतिनिधि  र पत्रकारहरूको सहभागिता रहेको थियो ।

सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई थप तथ्यपरक बनाउनका लागि सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

fa655fd0-1cad-

2cba2966-891e-

अन्य

भिडियो