अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजना र सूर्य प्रकाश सिर्जनशील बाल अधिकार समूहको समन्वयमा पञ्चपुरी नगरपालिका– २ स्थित सूर्यप्रकाश माध्यमिक विद्यालयमा मङ्सिर २७ गते बाल अधिकार समूहको पुर्नगठन तथा कार्ययोजना निर्माण सम्पन्न गरिएको छ ।
सूर्यप्रकाश माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूको भेलाले १३ सदस्यीय बाल अधिकार समूह पुर्नगठन गरिएको हो । जसको अध्यक्षमा विष्णु कँडेल उपाध्यक्षमा बिमला बुढा , सचिव सिम्रन पाण्डे, सह सचिव भुवन रेग्मी र कोषाध्यक्षमा सरिता जैसी चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा धर्मराज कँडेल, सीता श्री परियार, मनिषा रेग्मी, गरिमा कँडेल, राजन भण्डारी, दिनेश पौडेल, ईश्वर पूरी र साबित्रा बुढा रहनुभएको छ ।
कार्यक्रममा बोल्दै सूर्यप्रकाश माध्यामिक विद्यालयका प्रधानाध्यापाक टीकाराम बास्तोलाले बालबालिकाले आफ्नो अधिकारका निम्ति आफैं लड्नुपर्ने र अधिकार सँगसँगै कर्तव्य पनि नभुल्नपर्ने बताउनुभयो ।
बाल अधिकार समूह पुर्नगठनले बालिकाहरू आफू सचेत हुँदै समाज परिवर्तन गर्न सक्ने क्षमता अभिबृद्धि होस भन्ने शुभकामना उहाँले दिनुभयो । उहाँले विद्यालयमा बालबालिकालाई परेका समस्या थाहा पाएसम्म समाधान गर्ने बताउनुभयो । बाल समूहलाई विद्यालयको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
उहाँले चयन भएको नयाँ समितिले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदका सवालहरुमा अझै धेरै जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै नयाँ कार्य समितिलाई कार्यकालको शुभकामना समेत दिनुभयो ।
त्यस्तै गठन गरिएको समूहले एक वर्षको कार्ययोजना पनि तयार पारेको छ । कार्ययोजनामा पुष महिनामा वक्तृत्वकला, माघमा निबन्ध लेखन, फागुल्नमा कविता वाचन, बैशाखमा सडक नाटक, जेठमा चित्रकला प्रतियोगिता, असार महिनामा गायन प्रतियोगिता र भदौ महिनामा सडक गर्ने गरी कार्ययोजना तयार परेका छन् । कार्यक्रमको सहजीकरण इन्सेक सुर्खेत सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सूर्यप्रकाश माध्यामिक विद्यालयमा बाल अधिकार समूह परिचालनकोष बाफत ३५ सय रुपियाँ विद्यालयका प्रधानाध्यापक टीकाराम बास्तोलालाई हस्तान्तरण समेत गरिएको हो ।
त्यस्तै साथै विद्याज्योती माध्यामिक विद्यालय पञ्चपुरी–५ बाल अधिकार समूह परिचालन कोष बाफत ३५ सय रुपियाँँ विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटालाई समूहका अध्यक्ष भुबिन नेपाली, सचिव नवराज बुढा सदस्य यामुना ओडको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।


