लुम्बिनी प्रदेशका मातहतका विभिन्न जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा सम्पन्न भएको छ ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि जिल्लामा सङ्कलन गरिएको घटनाहरुको वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २७ गते सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले इन्सेकले वार्षिकरुपमा प्रकाशन गर्ने पुस्तक राज्यको सम्पत्ति भएको बताउनु भयो । उहाँले पुस्तक राज्यलाई सेकेण्डरी तथ्याङ्ककोरुपमा रहने भएपनि इन्सेकका लागि प्रारम्भिक तथ्याङ्क भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी इश्वर थापाले प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाहरूको बारेमा जानकारी गराउँदै निष्पक्षरुपमा प्रहरीले काम गर्दै आएको बताउनु भयो । गैसस महासंघका सचिव जुमान सिंह केसीले सरोकारवाला निकायले मानव अधिकार रक्षाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा इन्सेक प्रतिनिधि रविन्द्र पाण्डेले बाल अधिकार सम्वन्धी एक, बलात्कार पाँच, घरेलु हिंसा ३१ र हत्या तीन वटा गरी ४० वटा घटना प्रस्तुत गर्नु भयो ।
दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेख गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर २७ गते घोराहीमा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म दाङमा अभिलेख गरिएका २ सय ९२ घटना समीक्षाका लागि प्रस्तुत गर्नुभएको थियो । घरेलु हिंसाका १ सय ४, बलात्कारका ८९ र बलात्कार प्रयासका पाँच, यौन दुव्र्यवहारका २७ , अपहरण तथा शरिर बन्धक दुई , बोक्सी आरोप तीन , कुटपिट एक, दुव्र्यवहार नौ, जातीय विभेद दुई, मानव बेचविखन तथा ओसारपसार चार, सम्पति तोडफोड चार, धम्की एक, हत्या १२, हत्या प्रयास तीन, बन्द हडताल १५, बहुविवाह तीन, बालविवाह पाँच, आर्थिक अधिकार दुई र खाद्य अधिकार एक गरी २ सय ९२ घटना भएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरूले घटना विवरण सत्यतथ्य हुनुपर्ने भन्दै केही घटना छुटेकाले अभिलेख गर्न सुझाव दिएका थिए । न्यायिक समितिका संयोजक हुमा डिसीले वर्ष पुस्तकले राज्यलाई मानव अधिकार अवस्थाको यथार्थता झल्काइदिएको भन्दै मानव अधिकारका सबै विषयलाई पुस्तकमा समेटन सुझाव दिनुभयो । वडा प्रहरी कार्यालय घोराहीका इन्स्पेक्टर रामप्रसाद पाण्डेले मानव अधिकारका गम्भीर घटनामा मिलापत्र नहुने भन्दै घरेलु हिंसाका कतिपय घटना मिलापत्र गराउँदा परिवार सुरक्षित गराउने काम प्रहरीले गरेको बताउनु भयो । उहाँले वर्षपुस्तकले मानव अधिकार कुन घटना कति गम्भीर छ सोहीअनुसार प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
अर्घाखाँची जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २७ गते सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला प्रतिनिधि नेपालीले सन् २०२३ जनवरी देखि नोभेम्बरसम्ममा इन्सेकले अभिलेखिकरण गरेका ४९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना प्रस्तुत गर्नु भएको छ ।जसमध्ये बालिका बलात्कारका घटना ६ वटा, बहुविवाहका चार वटा, बालबिबाह एक वटा, हत्या चार वटा, आत्महत्या दुरूत्साहन एक, दुर्व्यवहार १० वटा र घरेलु हिंसाका २३ वटा घटना रहेका थिए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले जिल्लामा हत्या, बलात्कार, बहुविवाह, बालविवाह र घरेलुहिंसाका घटनामा महिला र बालिका पीडित हुने भएकोले यस्ता प्रकारका घटना कम गराउन सचेतनामूलक कार्यक्रम चलाउने र सूचना सन्देश टोल टोलमा दिनु पर्ने बताउनु भयो ।
गुल्मी इन्सेक प्रतिनिधि टोपलाल अर्यालका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरिएको घटनाहरुको प्रकाशन पूर्व बार्षिक समीक्षा मङ्सिर २७ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले जिल्लामा मानव अधिकार र ज्यादतीका घटनाामा ९० जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । जसमध्ये बाल अधिकार अन्तरगत बलात्कार दुई जना, बलात्कार पछि हत्या एक महिला अधिकार अन्तरगत बलात्कारमा चार जना । हत्या दुई जना, बहु विवाह ११ र घरेलु हिंसाबाट ६८ जना पीडित भएको विवरण प्रस्तुत गर्नु भएको हो ।कार्यक्रममा कारगार कार्यालय गुल्मीका प्रतिनिधि उमेश अर्यालले २५ जनाको क्षमता भएको कारागारमा अहिले १ सय १३ जना कैदी बन्दी हुँदा भवन व्यावस्थापन, खानेपानीको समस्या र जाडोमा कारागारका आश्रित बालबालिकाले पाएको सास्तीका बारेमा जानकारी गराउन ुभएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नविन किशोर प्रधानले मानव अधिकारको बिषयमा आफुहरू गम्भिर रहेको बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले राज्यले निशुल्क शिक्षा भनेर संविधानमा व्यवस्था गरेपनि तम्घासकै विद्यालयमा पैसा नभएकाहरू भर्ना हुन नसेको बताउनु भयो ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न भएको छ । इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले सन् २०२३ को अवधिमा पाल्पामा ६४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । इन्सेकको तथ्यांकमा बालिका बलात्कारका सात ओटा, महिला बलात्कारका सात ओटा र घरेलु हिंसाका ५० ओटा घटना रहेका थिए । कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले इन्सेकले लामो समयदेखि मानव अधिकार क्षेत्रमा रही महत्वपूर्ण कार्य गर्दै आएको बताउदै मानव अधिकार वर्ष पुस्तक नेपालको समग्र मानव अधिकार अवस्था झल्काउने पुस्तकको रुपमा रहेकोले पुस्तकमा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार लगायतका बिषयमा समस्या उठान गर्न सके सरोकारवालाहरूलाई झक्झक्याउन सहयोग पु¥याउने बताउनु भयो ।
इन्सेक बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा मङ्सिर २७ गते गुलरियामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलले सन् २०२३ मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका १ सय ४४ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बाल अधिकार अन्तरगत बलात्कारका १४ वटा, यौन दुर्व्यवहारका चार, ,महिला अधिकार अन्र्तगत बलात्कार ११ वटा र बलात्कार प्रयास एक , परिवारजनबाट हत्या एक, आत्महत्या दुरुत्सान एक, हत्या प्रयास एक , बहुविवाह सात वटा , लैगिंक हिंसा तथा घरेलु हिंसाबाट १ सय १ जना पीडित र झारफुकबाट दुई जना पीडित भएको तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले इन्सेकले प्रकाशन गर्ने पुस्तक मानव अधिकारको क्षेत्रमा अध्ययन गर्नेका लागि स्रोत पुस्तिकाकोरुपमा प्रयोग गर्न सकिने भएकोले यस्ता प्रकाशनहरू तथ्यपरक हुनुपर्ने बताउनु भयो । उहाँले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा राज्य पक्षबाट कुनै मानव अधिकारको उल्लघंन घटना नहुनुले सरकार मानव अधिकार रक्षाको पक्षमा भएको कुरा प्रष्ट पारेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी सुधिरराज शाहीले इन्सेकले संकलन गरेको मानव अधिकारका घटनाको केही घटना छुटेकोले सो घटना पनि समाबेश गर्नु पर्ने बताउनु भयो ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि तिलक जिएमका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व वार्षिक समीक्षा रोल्पाको लिवाङमा मङ्सिर १५ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिलक जिएमले सन् २०२३ जनवरी देखि हालसम्म जिल्ला ६४ वटा घटना सकंलन गरिएको घटना विवरण प्रस्तुत गर्नु भएको थियो ।जसमध्ये सवैभन्दा धेरै महिला हिंसा सम्बन्धी ४४ वटा घटना रहेका छन भने हत्या सँग सम्बन्धीत ११ वटा यौन हिंसा सम्बन्धी नौ वटा घटना रहेका छन् । जिल्ला अदालत रोल्पाका स्रेस्तेदार शिवप्रसाद पराजुलीले जिल्लामा हुने सबैखालका मानव अधिकारसँग सम्बन्धित घटनाहरु ऋभिलेखिकरण गर्नु पर्ने बताउनु भयो ।