अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा विद्या ज्योती सहनशील बाल अधिकार समूहको समन्वयमा कार्तिक २० र २१ गते पञ्चपुरी नगरपालिका– २ को सालकोट र ६ को चतुरे चोक मा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।
पञ्चपुरी नगरपालिकामा बढदो बालविवाहका विरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सानो उमेरमा विवाह गर्दा बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता विषयहरु समेटिएका थिए ।
सडक नाटक कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका– २ का वडा अध्यक्ष याम बहादुर विसीले बाल विवाह जस्तो संवेदनशील विषयलाई लिएर नाटक प्रस्तुत गरेकोमा इन्सेक संस्था प्रति धन्यवाद दिनुभयो । बालबिबाह गर्नु कानुनी अपराध हो ।
अहिलेका बालबालिका भविष्यका नेतृत्वकर्ता हुन हामीले हाम्रा बालबालिकालाई बाल विवाहको सिकार हुन दिनुहुँदैन र यसमा ध्यान दिनुपर्ने बताउनुभयो । हामीले बाल विवाह रोकथामका लागि वडाले गर्नुपर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता जनाउनु भयो।
यस्तै गरी, वडा नम्बर ६ का वडा सदस्य रत्ना विष्टले बालविवाह न्यूनीकरणका लागि चाल्नु भएको कदमलाई सम्मान गरेको बताउनु भयो । जनतालाई यसरी सडक नाटक मार्फत जनचेतना अभिवृद्धि गर्यो भने बालविवाहमा कमी ल्याउन सहयोग पुग्ने बताउनुभयो।
सडक नाटकको सहजीकरण इन्सेक जिल्ला सहजकर्ता ललिता विकले गर्नु भएको थियो ।






