INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूह पुर्नगठन तथा कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) कर्णाली प्रदेशको आयोजना र विद्याज्योति सहनशील बाल अधिकार समूहको समन्वयमा पञ्चपुरी नगरपालिका– ५ स्थित विद्याज्योति माध्यमिक विद्यालयमा असोज २४ गते बाल अधिकार समूहको पुर्नगठन तथा कार्ययोजना निर्माण सम्पन्न भएको छ ।

विद्याज्योति माध्यमिक विद्यालयका कक्षा ७, ८,९ र १० का विद्यार्थीहरूको भेलाले  १३ सदस्यीय बाल अधिकार समूह पुर्नगठन गरिएको हो । जसको अध्यक्षमा भुबिन नेपाली, उपाध्यक्षमा विष्ना विक, सचिव नवराज बुढा, सह सचिव झरना तिरुवा र कोषाध्यक्षमा नवराज महतरा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा यमुना ओड, रेखा ओड, कोपिला विक, निखिता लिम्बू, युवराज विक, विमल ओड, हिमाल नेपाली र मनोज रावल रहनुभएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रावलले आफ्नो अधिकारका निम्ति आफैं लड्नुपर्ने र अधिकार सँगसँगै कर्तव्य पनि नभुल्नपर्ने बताउनुभयो । अध्यक्ष रावलले यस बाल अधिकार समूह पुर्नगठनले बालिकाहरू आफू सचेत हुँदै समाज परिवर्तन गर्न सक्ने क्षमता अभिबृद्धि होस भन्ने शुभकामना दिनुभयो । उहाँले विद्यालयमा बालबालिकालाई परेका समस्या थाहा पाएसम्म समाधान गर्ने बताउनुभयो । बाल समूहलाई विद्यालयको तर्फबाट सहयोग गर्ने अध्यक्ष रावलको भनाइ छ ।

द्यिालयका प्रद्यानाध्यापक कृष्णप्रसाद सापकोटाले गत वर्ष गठन गरेको बाल अधिकार समूहले एक वर्षमा आफूले गर्ने गतिविधि पूर्णरुपमा सम्पन्न गरेको र अबका दिनहरूमा अझै यो भन्दा राम्रो गर्ने आशा भएको बताउनुभयो । उहाँले अहिले चयन भएको नयाँ समितिले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदका सवालहरुमा अझै धेरै जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै नयाँ कार्य समितिलाई कार्यकालको शुभकामना दिनुभयो ।

गठन गरिएको समूहले एक वर्षको कार्ययोजना पनि तयार पारेको छ । कार्ययोजनामा मंसिर महिनामा कवडी प्रतियोगिता र सडक नाटक, पुस महिनामा निबन्ध प्रतियोगिता र भलिबल प्रतियोगिता, माघ महिनामा कविता वाचन र चित्रकला प्रतियोगिता र फागुन महिनामा सडक नाटक र वक्तृत्वकला प्रतियोगिता गर्ने भएका छन् ।

कार्यक्रमको सहजीकरण इन्सेक सुर्खेत सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।

Surkhetphoto20231012

 

अन्य

भिडियो