इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेत, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका सँगको समन्वयमा पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रम भदौ १९ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा नगर प्रमुख भण्डारीले मानवअधिकारसम्बन्धी कार्ययोजना व्यवहारमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाउनु भयो । उहाँले लोकतन्त्रमा नागरिकले मानवअधिकारको अनुभूतिगर्ने बताउँदै यसलाई थप व्यवस्थित गदै नगर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रम नगरप्रमुख भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । पञ्चपुरीमा यसअघि नै मानव अधिकारसम्बन्धी स्थानीय तह समन्वय समिति गठन गरिएको थियो ।
त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष भिम भण्डारीको संयोजकत्वमा मानव अधिकारसम्बन्धी स्थानीय तह समन्वय समिति गठन भएको छ । समितिका अन्य सदस्यमा नगर उप्रमुख, सबै वडाअध्यक्ष, सुरक्षा निकायका प्रमुख, सम्बन्धीत विषय हेर्ने शाखा अधिकृत रहनु भएको छ । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापा रहनु भएको छ । समितिमा मनोनयन गर्नुपर्ने एक जना महिलासहित तीन जना नागरिक समाजका प्रतिनिधि समितिको आगामी बैठकले मनोनित गर्ने अध्यक्ष भण्डारीले प्रतिबद्धता जनाउनु भयो ।
अध्यक्ष भण्डारीले मानव अधिकारको रक्षा गर्न स्थानीय समिति प्रतिबद्ध रहेको र मानव अधिकारका क्षेत्रमा संवेदनशीलताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुबै पालिकाको छलफल कार्यक्रममा जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारले नेपाल सरकारको कार्ययोजना पुर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख सुनारले पालिका तहले यस विषयमा धेरै काम गरेको बताउँदै चुस्त दुरुस्त अभिलेख र समय—समयमा सम्बन्धित निकायमा प्रगति प्रतिवेदन पालिकालाई अनुरोध गर्नुभयो ।
त्यस्तै बराहतालमा आयोजित छलफल कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना नेपाल सरकारकै कार्यक्रम भएकोले त्यसलाई व्यवहारिक रुपमा सबैले सहयोग गर्न अनुरोध गर्नुभयो । पालिका, जिल्ला र प्रदेश सबैले व्यवहारमा कार्यान्वयन गरे त्यसको प्रभावकारिता अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसको प्रभावकारिता बढ्ने प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो ।
दुबै पालिकामा भएको कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाको पृष्ठभूमि, दिर्घकालीन सोच, प्रमुख उद्देश्य, रणनीति, कार्ययोजनाले समेटिएका विषय, कार्ययोजना कार्यान्वयन, समन्वय र अनुगमन, कार्ययोजना कार्यन्वयनमा सम्बद्ध निकायको भूमिका, जिम्मेवार निकाय, कार्ययोजना समन्वय संयन्त्र, अपेक्षित उपलब्धि लगायतका विषयमा प्रकाश पादै सहजिकरण गर्नुभएको थियो ।
पालिकाको छलफल कार्यक्रममा नगरउपप्रमुख, उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक, नागरिक समाजका प्रतिनिधि, सबै वडाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र नगरपालिकाको सम्बन्धित शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


