INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति, सुर्खेतको आयोजना तथा इन्सेकको समन्वयमा भदौ २० गते वीरेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं राष्ट्रिय दिवस प्रभातफेरि र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

अन्तरक्रिया कार्यक्रमका सरोकारवालाहरुले मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटनाहरु बढ्नुको मुख्य कारण गरिबी र अशिक्षा रहेको बताउनुभयो । २००७ सालभन्दा अघि नेपालमा पनि दास प्रथा रहेको भन्दै समाजलाई  परिवर्तन गर्ने कुरामा नागरिक र राज्य दुबैको उत्तिकै दायित्व रहेको बताउनुभयो ।
मानव अधिकार मानिसका लागि सर्बोच्च अधिकार रहेको बताउँदै कानुनी राज्यमा त्यसको रक्षा गर्नु राज्यको दायित्व रहेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले समाजमा मानव बेचबिखनका घटनाहरु बढिरहेको र सचेतनाका कारण पीडितले पीडा बाहिर ल्याउन नसकेको बताउनुभयो । त्यसरी समाजमा लुकेर रहेका घटनाहरु बाहिर ल्याई पीडकलाई कारबाहीको दायरामा ल्याउनु सबैको कर्तव्य रहेको प्रमुख सुनारले बताउनुभयो । मानव अधिकारको रक्षा र आपराधिक घटनाका विषयमा गाउँ गाउँमा सचेतना फैलाउन सके त्यस्त घटनामा कमी आउने प्रमुख सुनारको भनाइ छ ।

त्यस्तै गरी जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी योगेन्द्र सिंह थापाले नेपालमा मानव बेचविखन तथा ओसारपसारको अवस्था, त्यस सम्बन्धी बनेका ऐन कानुन र यसको न्यूकिरणसम्बन्धी प्रस्तुतीकरण मार्फत जानकारी दिनुभयो । उहाँले मानव बेचविखन तथा ओसारपसारको मुख्य कारण बेरोजगारी र गरिबी भएको बताउनुभयो । त्यस्ता क्रियाकलाप विरुद्ध प्रहरीले विभिन्न कार्यक्तमहरु समेत गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सुर्खेत्मा पछिल्लो तीन वर्षमा सात वटा मानव बेचविखन तथा ओसारपसार सम्बन्धीका मुद्दाहरु प्रहरीसँग आएका छन् । जसअनुसार आर्थिक वर्ष ०७६/०७७ मा एक ,०७७/०७८ मा एक, ०७८/०७९ मा दुई र ०७९/८० मा तीनवटा मुद्दाहरु आएका हुन् । समुदायमा घटना घटेपनि पीडा बाहिर नल्याउनाका कारण प्रहरी यस्ता घटनाहरु आउन नसकेको उहाँको भनाइ छ ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव बेचविखनको जालो ठुलो हुनेभएकोले त्यसलाई तोड्न सबै निकायहरुको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।अशिक्षा र गरिबीको मौकामा बेचबिखन गर्नेहरुको समुहले राज्यलाई नै चुनौती दिने गरेको भन्दै त्यसका विरुद्ध एकजुट भएमात्रै मानवअधिकारको रक्षा हुने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल र आवाज संस्था सुर्खेतकी प्रतिनिधि निसा पौडेलले दिवसका अवसरमा हुने कार्यक्रमसँगै अन्य कार्यक्रमहरु गर्न सरकारले विषेश नीति तथा कार्यक्रम ल्याउनुपर्नेम जोड दिनुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला स्थित सरकारी कार्यालय, बालसमुह, किशोरी समुह, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Photo2023097 Surkhet (4)

Photo2023097 Surkhet (2)

Photo2023097 Surkhet (3)Photo2023097 Surkhet (1)

अन्य

भिडियो