बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रमसम्पन्न भएको छ । इन्सेक, एड्भोकेसी फोरम र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतको आयोजनामा भदौ १३ गते वीरेन्द्रनगर नपाको वीरेन्द्र चोकमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको हो ।
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । संयुक्त राष्ट्र संघको महासभाले बलपूर्वक वेपत्ता पार्ने कार्य विरुद्धको महासन्धि पारित गरेको दिनलाई स्मरण गर्दै यो दिवस अन्तर्राष्ट्रिय स्तरमा मनाउने गरिएको संयोजक सुवेदीले बताउनु भयो ।
दीप प्रज्ज्वलन कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि.सी.ले बेपत्ता पारिएकाहरूलाई उच्च सम्मान प्रकट गनुभयो । त्यस्तै बेपत्ता परिवार समाज सुर्खेतकी अध्यक्ष शान्ति ढकालले शान्ति सम्झौता भएको १७ वर्ष बितिसक्दा पनि बेपत्ता पारिएकाहरूको सास र लास नपाउदा पीडामाथि पीडा थपिएको गुनासो गर्नुभयो ।
उहाँले देश संघीय गणतन्त्रमा गइसक्दा समेत बेपत्ता पारिएकाहरूको विषयमा राज्य र आयोगले गम्भीर रुपमा नलिएको प्रति दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेपत्ता बनाइएका व्यक्तिका आफन्त, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोला, मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागेश्वरी असल शासन क्लव लगायतका सरकारी तथा गैरसरकारी संघ संस्थाको समेत उपस्थिति रहेको थियो ।
