
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम समपन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले असार १४ गते आयोजित कार्यक्रममा सन २०२३ को ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा जिल्लामा ४० ओटा मानव अधिकार हनन्का घटनाहरू सङ्कलन गरीएको थियो । जसमा बालिका बलात्कारका ९ ओटा घटना, यौन दुर्व्यवहारको ४, महिला बलात्कारको ८, परिवारजनबाट हत्या २, बहुविवाह ८ लगायतका ४० ओटा घटना भएको तथ्याङ्क प्रस्तुत गरीएको थियो । ४० ओटा घटनामा २ पुरुष ३८ महिला गरी ४० जना पीडित भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीेले इन्सेक लगायत अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले गर्दा सरकार तथा सरोकारवालाहरू नीति तथा कानून बनाउन बाध्य भएको बताउनु भयो । सरकारले आफै गर्नु पर्ने काम संघ संस्थाले गरेर सरकारलाई सघाएकोले सरोकारवालाहरू सचेत र सक्रिय भएको बताउनु भयो । महिलाहरू हिंसा बाट पीडित भएको तथ्याङ्क त छ तर पुरुषहरू पनि पीडित भएको बताउदै इन्सेकले सोको पनि अभिलेख राख्नु पर्ने उहाँले बताउनु भयो ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख दिपक कोइरालाले पुस्तकमा अभिलेख गरेर इन्सेकले दस्ताबेजको काम गरेको बताउनु भयो । पुस्तक निकालेर मात्र समस्या समाधान हुदैन । समस्या समाधानको लागि निरन्तर सरोकारवालाहरूलाई घच्घचाइ राख्नु पर्ने बताउनु भयो । समाजबाट हिंसा हटाउन कर्तव्य र अधिकारको पालना सबैले गरे सहजै हट्न सक्ने उहाँले बताउनु भयो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कोमल ठाकुरले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकबाट हामीले सिक्ने गरेको बताउनु भयो । प्रहरी एक्लैले मात्रै अपराध न्यूनकरण गर्न नसक्ने हुँदा सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । हिंसा पीडितहरूको सुरक्षाबासको लागि संघ संस्था तथा स्थानीय सरकारले पहल गर्नु पर्ने इन्सपेक्टर ठाकुरले बताउनु भयो ।
अधिकारकर्मी श्यामकुमारी साहले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले सबै खाले अधिकारहरूलाई समेटेर राम्रो गरेको बताउनु भयो । इन्सेक प्रतिनिधिले मात्र जिल्ला भरीको सबै तथ्याङ्क समेट्न नसक्ने भएकोले सबैले सूचनाको श्रोत भई सहयोग गर्नु पर्ने र सङ्कलित तथ्याङ्कहरूलाई न्यायको पहल सम्म पनि पुर्याउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

