INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १३ गते चरिकोटमा सम्पन्न गरेको छ ।

Photo_080-3-13_Dolakha

सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा १४ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि उद्धव पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।

जसमा बलात्कारका घटनाबाट ८ जना बालिका र ६ जना महिला पीडित भएका छन् । बलात्कारका घटनामा १८ जना आरोपित संलग्न भएको विवरण प्रस्तुत गर्नुभयो । यसै अवधिमा दुई ओटा कर्तव्य ज्यानका घटनामा चार जना आरोपित संलग्न भएको र कुटपिटका घटनाबाट तीन जना पीडित भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बर्जुराम घतानीले इन्सेकले प्रस्तुत गरेका मानव अधिकारका घटनाका आङ्कडाले जिल्लामा महिला पीडित भएको र त्यसमा पनि बलात्कारका घटनाले समाज अझै आपराधिक गतिविधि तर्फ नै रहेको बताउनु भयो । प्रमुख घतानीले बालबालिका र महिलालाई भयमुक्त समाजमा रहेको अनुभुति दिन कडा कानुनी कारबाही हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासङ्घ शाखाका सचिव दिलसागर केसीले इन्सेकले पेश गरेको मानव अधिकारका घटनामा जिल्लाका सबै भगमा घटेका घटनालाई थप समेट्न सकेमा हिंसाका घटनाको सङ्ख्या अझ बढ्ने भन्दै कुनै संस्थाको प्रयासले मात्र मानव अधिकारको प्रत्याभुति नागरिकमा पुर्‍याउन नसक्ने भन्दै स्थानीय सरकार, गैरसरकारी संस्था, सञ्चार जगत सबैका एकिकृत प्रयास हुनुपर्ने बताउनु भयो । साथै पत्रकार केसीले अपाङ्गता भएका व्यक्तिको सवाल, शिक्षा, स्वास्थ्यका सवाललाई समेत समेटेर प्रतिवेदनलाई पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

महिला अधिकारकर्मी सिर्जना कार्कीले जिल्लामा पीडित महिला तथा बालबालिको लागि सुरक्षित आवास उचित खानबस्नको लागि सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रकी वरिष्ठ सई दाक्षेकी शेर्पाले महिलाहरूले अहिले पनि सामाजबाट आफू सुरक्षित छु भन्ने महसुस गर्ने वातावरण नभएको भन्दै एकल प्रहरी प्रशासनको प्रयास अपुग हुने हुँदा नागरिक समाज, पत्रकार, सरकारी निकाय, तीनै तहका सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

घरेलुु हिंसातर्फ ३१ ओटा यातनाका घटना जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक कार्यालयमा दर्ता भएको शेर्पाले जानकारी दिनुभयो । जसमध्ये २८ ओटा शारीरिक यातना र तीन ओटा मानसिक यातनाका घटना भएकोमा १९ ओटा घटना मिलापत्र भएको, आठ ओटा कानुनी प्रक्रियामा गएको र चार ओटा प्रक्रियामा रहेको उहाँले बताउनु भयो ।

Photo_080-3-13_Dolakha.

अन्य

भिडियो