INSEC Online

📅 २०८३ जेष्ठ २१

वैकल्पिक नेतृत्व तयार गर्ने नीति योजनाहरु हुनुपर्ने : बिशुन्के

पूर्व साँसद पार्वती बिशुन्केले वैकल्पिक नेतृत्व तयार गर्ने नीति योजनाहरु हुनुपर्ने बताउनु भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन २४ गते दैलेखमा आयोजना गरेको नेतृत्वमा महिला प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

बिशुन्केले स्थानीय तहका महिला लक्षित कार्यक्रमले वैकल्पिक नेतृत्व तयार गर्न सक्ने सचेतना जगाउन नसके उहिलेदेखि अवसर लिइरहेकाहरु दोहोरिने खतरा रहेको औल्याउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समुदायमा पछि पारिएकाहरुलाई उकास्न जरुरी रहेको बताउनु भयो ।

नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले महिलाहरुको प्रतिनिधित्वलाई उपलब्धी मान्नुपर्ने बताउदै पद र पहुँचमा भएका महिलाहरुको क्षमता विकासमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । महिलालाई शिक्षा, स्वास्थ्य र रोजगार सिर्जना गर्न नगरपालिकाले काम गरिहेको उल्लेख गर्नुभयो ।

नेपाल महिला संघका जिल्ला सभापति दुर्गा श्रेष्ठले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा चुनिएका महिलाहरुले विना पूर्वाग्रह महिलाहरुको सर्वागीण विकासमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारीका जिल्ला उपाध्यक्ष कमला भण्डारीले महिलाहरु कामकाजी भएपछि पनि घरायसी कामको बोझ हट्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले कामकाजी महिलाहरुलाई कार्यथलो र घरायसी दोहोरो कामको भार परेको व्याख्या गर्नुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य दुर्गा गिरीले महिलाहरुलाई राजनीतिक प्रतिनिधित्व भएको तर निर्णयमा सहभागिताको अवसर अझै हुनै नसकेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले महिला नेतृहरुले पाएको अवसरलाई कति सदुरपयोग भएको छ भनेर मूल्याङकन गर्ने बेला भएको बताउनु भयो ।

नेपाल मानव अधिकार संगठनका कर्णाली प्रदेश अध्यक्ष दीर्घराज अधिकारी, पत्रकारहरु भक्तबहादुर शाही, रामकृष्ण कठायत, बिशाल सुनार, तीर्थ भण्डारी, युवा अभियन्ता जीवन बिक, गैसस महासंघका कोषाध्यक्ष डिलकुमारी चन्दले महिला अधिकार र नेतृत्वमा महिलाको प्रतिनिधित्वको सवालमा धारणा राख्नु भएको थियो ।

Photo20230309Dailekh (1)

Photo20230309Dailekh (2)

अन्य

भिडियो