पर्वतका महिला अधिकारकर्मीहरूले समानता, महिला जागरण, महिला हिंसा न्युनिकरण र प्रविधिमा महिलाको पहुँच बिस्तारमा जोड दिएका छ्न । लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँच विस्तार भन्ने मुल नाराका साथ मनाइएको ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते आयोजित कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वत, कुश्मा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास कार्यालय सहित उद्योग बाणिज्य संघ, मानव अधिकार संगठन, नेपाल पत्रकार महासंघ पर्वत, महिला मानव अधिकार रक्षक सन्जाल, सञ्चारिका समूह, एकल महिला समूह, गैसस पर्वत, राष्ट्रिय उपभोक्ता मन्च र इनरह्विल क्लव अफ पर्वत लगायत संस्थाले सयुंक्त रूपमा कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अन्तर्राष्ट्रिय महिला दिवस र विकृति निवारण विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम विकले समाज परिवर्तन हुँदै गएको र महिलालाई नेपालको नयाँ संविधानले केही अधिकार दिए पनि अझै महिलाहरू अधिकार सम्पन्न नभएको बताउनुभयो । समान कामको समान ज्याला, राजनितीमा सहभागिता वृद्धि, क्षमता विकास गराउन ध्यान दिनुपर्छ भन्नुभयो । विकले समानता र महिला अधिकारको विषय महिलामा मात्र सिमित नभएर यो सामाजिक मुद्धा बनेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाको उपप्रमुख स्वस्थानी रिजालले महिला लाई अवसर र अधिकार दिने भनेपनी राज्यले अझै पनि हात बाधेर बसेको गुनासो गर्नुभयो । महिला लाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिने बेलासम्म परिवर्तनको कल्पना नरहेको भन्दै महिला लाई साच्चिकै अधिकारसम्पन्न बनाउन आवश्यक रहेको बताउनुभयो ।
