नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २५ गते सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको छ ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनाको अवधिमा जिल्लामा ४६ ओटा मानव अधिकार तथा ज्यादतीका घटना भएको पाइएको छ ।
इन्सेक अभिलेखका जिल्लामा एक वर्षको अवधिमा घरेलु हिंसाका ३० ओटा, बलात्कार घटनामा चार जना महिला र आठ जना बालिका, बोक्सीको आरोपमा कुटपिट एक जना महिला, हत्या एक जना महिला, कुटपिट एक ओटा, राज्य पक्षबाटको घटनामा एक जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा बलात्कार घटनामा बालिका सबै भन्दा पीडित भएका छन् । पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएकोमा समीक्षा कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलेले भन्नुभयो– मानव अधिकार उलङ्घनका घटना रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक छ । अन्र्तराष्ट्रिय कानुनको पक्ष राष्ट्रमा हस्ताक्षर गरेको नाताले हामी मानवले स्वतन्त्रता,आधारभूत अधिकार प्राप्त गर्नु हाम्रो नैर्सगिक भएको प्रमुख शाक्यले बताउनु भयो । उहाँले हिंसा अन्त्य गर्न पहिले हामीले आफ्नै घरबाट सुरू गर्नुपर्ने शाक्यले बताउनु भयो । पछिल्लो समय न्यायलयबाट समेत मुद्दा प्रक्रिया ढिला हुदाँ पीडित झन पीडामा पर्नु परेको समन्वय प्रमुख शाक्यले बताउनु भयो ।
कानुनको पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठले बताउनु भयो । न्यायिक समितिमा घरेलु हिंसा, लेनदन र बोक्सीको आरोपमा उजुरी परेपनि छलफल र मिलापत्रमा ल्याउन समस्या भएको उपप्रमुख श्रेष्ठले बताउनु भयो ।
खाँदबारी नगरपालिकाको न्यायिक समितिले वडावडामा मेलमिलावकर्ता राखेर समेत मेलमिलाप गरिरहेको उपप्रमुख श्रेष्ठले बताउनु भयो ।
समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले प्रहरी प्रशासन, स्थानीय तहसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिनु भएको छ ।

