INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १६ गते सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनासम्मको अवधिमा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा सम्पन्न गरिएको हो ।

समीक्षा कार्यक्रममा जिल्लामा ११ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३८ ओटा घटना अभिलेखीकरण गरिएको छ ।

समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार बाल अधिकार, बलात्कार, यौन दुर्व्यवहारसम्बन्धी ६ ओटा, महिलाविरुद्ध हुने बलात्कार पाँच ओटा, परिवारजनबाट हत्या दुई ओटा, हत्या कुटपिट दुई ओटा र घरेलु हिंसासम्बन्धी २२ ओटा मानव अधिकार उल्लङ्घनका घटना भएको उल्लेख छ ।

पतिको कुटाइबाट २५ वर्षीया लीला राईको हत्या भएकोदेखि छिमेकीबाट १९ महिने शिशु बलात्कार घटनामा पीडित भएको घटना इन्सेकले अभिलेख गरेको छ ।

समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले  कुनैपनि घटनामा मानव अधिकारलाई केन्द्रमा राखेर प्रहरीले काम गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकारसँग जोडिएको विषयमा समयसमयमा समीक्षा कार्यक्रम राखी मानव अधिकार अभियानलाई सकारात्मक ढङ्गले अघि बढाएको बताउनु भयो । उहाँले जो कोही आरोपितलाई हिरासतमा राख्दा मानवीयताका आधारमा व्यवहार गर्न गराउनको लागि बारम्बार प्रहरी कर्मचरीलाई निर्देशन दिएको र प्रहरीमा आएको उजुरी तत्काल कार्यान्वयनमा लगेको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले गम्भीर प्रकृतिको घटनामा संलग्न भएका आरोपितलाई तत्काल कानुनी दायरामा ल्याउने सवालमा मानव अधिकार उल्लङ्घन भएको आरोप लाग्ने गरेको भन्दै यस्ता घटनामा गहिरिएर अध्ययन गरी अभिलेख राख्न इन्सेकलाई सुझाव दिनुभयो । उहाँले मानव  अधिकार रक्षाको सवालमा इन्सेकले खेलेको भूमिकाको प्रशंसा गर्दै राज्यपक्ष र गैहृराज्य पक्षलाई समेत गराउने काममा इन्सेक अग्रणी रहेको बताउनु भयो ।

कार्यक्रममा अधिकारकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Photo 20221202 Solu (2)

Photo 20221202 Solu (3)

अन्य

भिडियो