अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालबिच समीक्षा गरिएको छ ।
मङ्सिर २१ गते आयोजित कार्यक्रममा इन्सेक भोजपुर प्रतिनिधिले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २० गते सम्म जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि सरोकारवालाहरूबिच समीक्षा गरिएको हो ।
जिल्लामा ११ महिनाको अवधिमा मानव अधिकार उल्लङघन तथा ज्यादतीका १ सय १ ओटा घटना अभिलेख गरिएको छ । जसमध्ये हत्याका दुई, घरेलु हिंसाका ६९, महिला तथा बालिका बलात्कारका आठ, बलात्कार, बहुविवाहका एक र कुटपिटका २० ओटा घटना छन् ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले मानवअधिकार उलङ्घनका हुन नदिन राज्यसँगै नागरिकहरूले पनि भूमिका खेल्नु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विभिन्न सङ्घसंस्था तथा राज्यले खेलेको भूमिकाले यस्ता घटना न्यूनीकरणमा केही टेवा पुगेको भएपनि यो प्रयाप्त हुन नसकेको बताउनु भयो । समाजमा अझै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यस तर्फ ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका एसपी सरदकुमार थापा क्षेत्रीले प्रहरीले समाजमा हुने अपराधिक घटना न्यूनीकरणमा भूमिका खेलीरहेको बताउनु भयो । उहाँले समाजमा मानव अधिकारका विषयमा केही चेतना आएको भएपनि महिला र बालबालिकामाथि हुने गरेको हिंसामा कमी नआएको बताउनु भयो ।
मानव अधिकार रक्षाका लागि नागरिकले प्रहरीलाई सदैव सहयोग गर्न आवश्यक रहेको यस्ता घटनालाई कम गर्न नागरिकले पनि प्रहरीलाई सहयोग गर्नु पर्ने धारणा एसपी थापाले राख्नु भयो ।
मानव अधिकार रक्षक सञ्जाल भोजपुरकी अध्यक्ष लीलामाया तामाङले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानवअधिकार हनन हुन नदिन भइरहेका प्रयासले समाजमा केही सकारात्मक भावनाको विकास भएको बताउनु भयो ।
मानव अधिकारका घटना न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले सबै सञ्चारकर्मीले यस विषयमा संयम भएर समाचार प्रकाशनमा ध्यान दिनुपर्ने नेपाल पत्रकार महासङघ भोजपुरका अध्यक्ष एक्सन राईले बताउनु भयो ।
नागरिक समाज भोजपुरका संयोजक प्रशुराम तिवारीले इन्सेकले देशभरी मानव अधिकारको रक्षाका लागि खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै सरोकारवाला पक्षको नजर आवाजविहीनहरू समक्ष पुग्नु पर्नेमा जोड दिनुभयो ।
समीक्षा कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।



