लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा दैलेख जिल्लाको नारायण नगरपालिका -६ स्थित रेडक्रस माध्यमिक विद्यालय भूर्तीमा बालिकाहरुलाई हुने यौनजन्य हिंसाबाट जोगिने उपाय विषयमा मङ्सिर १४ गते किशोरी आत्मरक्षा अभिमुखीकरण गरिएको छ ।
किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको किशोरी आत्मरक्षा समूहले बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाबाट जोगिने उपाय र सीप बारे नमूना अभ्यास प्रस्तूत गरिएको थियो । किशोरी आत्मरक्षा अभिमुखीकरण जीवन उपयोगी भएको रेडक्रस मावि भूर्तीका प्रधानाध्यापक पदमबहादुर थापाले बताउनुभयो ।
त्यसबखत जिल्ला प्रहरी कार्यालय दैलेखका महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई सुशीला भूसालले महिला र किशोरी माथि हुने हिंसा रोकथाम सरकारले ध्यान दिएको तर त्यसको लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष भरतराज अधिकारी र अक्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता गोपाल नेपालीले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपायका विषयमा प्रकाश पार्नुभएको थियो ।


