महिला, बालकालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि सहयोग गर्न युरोपियन युनियनसँग प्रदेश १, का नागरिक समाजका प्रतिनिधिहरूले आग्रह गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयले विराटनगरमा असोज ३० गते आयोजना गरेको छलफलमा सहभागिहरूले महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि सहयोग गर्न युरोपियन युनियनका नेपाल प्रतिनिधि डा.जोइले होभानेट र लिसा साफ्रिकसँग नागरिक समाजका प्रतिनिधिले आग्रह गरेका हुन् ।

कार्यक्रमा नागरिक समाजका प्रतिनिधि मणि अज्र्यालले ज्येष्ठ नागरिकका समस्या धेरै भए पनि समस्या समाधानका लागि कसैले पनि ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकका सम्बन्धमा छुट्टै अभिसन्धि नहुँदा ज्येष्ठ नागरिक आधारभूत मानव अधिकारबाटसमेत वञ्चित हुुनु परेको बताउनु भयो । ज्येष्ठ नागरिकलाई स्वास्थ्यको समस्या पनि विकराल रहेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति सबैको ध्यान केन्द्रीत हुनु आवश्यक रहेको र युरोपियन युनियनले यसतर्फ नेपाललाई सहयोग गर्न आग्रह गर्नु भयो ।
महिला अधिकारकर्मी सरस्वती दनुवारले प्रदेश १ मा महिला हिंसाका घटना धेरै देखिएकाले महिला हिंसा न्यूनीकरणका नेपाल सरकारलाई युरोपियन युनियनले सहयोग गर्न सक्ने बताउनु भयो । उहाँले पछिल्ला वर्षहरूमा प्रदेश १ मा बालिका यौनजन्य घटनामा पीडित हुने तथ्याङ्क बढेकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो । १३ वर्ष उमेरसमूहदेखि १६ वर्षका बालिकाहरू प्रेम सम्बन्धका कारण गर्भवती हुने र त्यस्ता बालिकाहरू कानुनी प्रक्रियामासमेत जान नमान्ने समस्या देखिएको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ प्रदेश १ का अध्यक्ष लखनलाल साहले नेपालमा कानुन भए पनि कार्यान्वयन नहुँदा नागरिककको अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो । उहाँले कतिपय जघन्य अपराधका घटनासमेत सङ्घसंस्था र सञ्चार माध्यमले दबाब नदिई मुद्दा दर्ता नहुने गरेको गुनासो गर्नुभयो । परिवर्तनशिल समाज मोरङकी संयोजक मुस्कान श्रेष्ठले तेस्रो लिङ्गी तथा समलिङ्गीहरूको पहिचान अझै पनि स्थापित हुन नसकेको बताउनुभयो । उहाँले तेस्रो लिङ्गीहरूले परिचयपत्रसमेत पाउन नसकेको गुनासो गर्नुभयो ।
माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले खाडीका देशमा महिलालाई घरेलु कामदारका रूपमा जान बन्देज गरिएका कारण भारतको बाटो हुँदै महिलाहरू खाडीमुलुक पुग्ने गरेको बताउनुभयो । उहाँले भारतको बाटो हुँदै खाडी मुलुक जाँदा महिलाहरू बेचविखनमासमेत पर्ने गरेको बताउनु भयो । १८ वर्ष मुनिका बालिकाहरूलाई प्रेम विवाह गरेर र त्यो भन्दा माथिका महिलालाई रोजगारीको प्रलोभनमा पारेर भारत तथा अन्य देशमा बेचविखनका लागि जोगवनी नाकाहुँदै लैजाने गरेको पाइएको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, जागरण नेपालकी प्रतिक्षा बस्नेतलगायतले मानवअधिकारको रक्षाका लागि युरोपियन युनियनले सामाजिक सङघसंस्थामा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा डेलिगेशन अफ द युरोपिएन युनियन टु नेपालकी हेड अफ पोलिटिकल डा जोइले हिभोनेट, पोलिटिकल अफिसर लिसा साफ्रिक, युरोपियन अनलाइन सिनियर प्रोग्राम म्यानेजर शिव भण्डारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले प्रकाश पार्नु भएको थियो ।