INSEC Online

📅 २०८३ जेष्ठ २१

सुविधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्धेश्यले सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

जिल्लामा सात महिनादेखि चामल वितरण नभएको खाद्य संस्थान शाखा कार्यालयबाट माघ ३ गतेदेखि बजारको कोटा भाग र सिमकोट गाउँपालिका-५ र ६ मा चामल वितरण गरेको ३० किलो चामलको संस्थानले १ हजार ८ सय ५० रुपियाँ लिनुपर्नेमा २ हजार १ सय २० रुपियाँ तिर्नु परेको सिमकोट गाउँपालिका-५ का स्थानीयबासी लोकमणी रावतले गुनासो गरे ।

सडक र सवारी साधन नपुगेको विकट जिल्लामा जहाजले तोकिएको कोटाको चामल उपलब्ध गराउन सकेको छैन । आर्थिक अवस्था कमजोर रहेका हुम्लाका जनतासँग सोना मन्सुली चामल प्रति बोरा २ सय ७० रुपियाँ बढी लिने गरेको सोही गाउँपालिका-६ का स्थानीयबासी टेकबहादुर रोकायाले गुनासो गरे ।

जिल्लामा अनुदानको चामल किनेर खाँदा पनि यसरी महङ्गो हालेर खानु परेको भन्दै स्थानीयबासी आक्रोशीत भएका छन् । खाद्य संस्थान शाखा कार्यालयका प्रमुख नारायण सिंह केसीले यतिखेर हवाई जहाजको भाडा बडेकोले चामल महङ्गोमा दिन बाध्य भएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाका अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि ३० किलो चामलको २ हजार १ सय २० रुपियाँ पर्न गएको बताए ।

अन्य

भिडियो