जिल्लास्थित सरोकारवालाहरुले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्थाको चित्रण गर्दै राज्यलाई मानव अधिकारप्रति थप जिम्मेवार तथा जवाफदेही बनाउन मदत गरेको बताउनु भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले चैत १७ गते जिल्लास्थित प्रमुख सरोकारवालाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्त्रण गरिसकेपछि गरिएको छलफलका क्रममा उहाँहरुले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

वर्ष पुस्तक बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले मानव अधिकार विरोधी घटना नियन्त्रणको लागि राज्यलाई थप जिम्मेवार र जवाफदेही बनाउने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘इन्सेकले सार्वजनिक गर्ने मानव अधिकार उल्लङ्घनका घटनाहरुले देशको अधिकारको अवस्थाका बारेमा विश्लेषण गरेको छ ।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्र पालले मानव अधिकार वर्ष पुस्तकले देशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि ल्याउनुका साथै सम्बन्धीत पक्षलाई जिम्मेवार बनाउन अहम भुमिका खेलेको बताउनु भयो ।

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रशाद ओझाले नेपाल मानव अधिकार वर्ष पुस्तकमा सामाजिक तथा सांस्कृतिक अधिकारका विषयहरुलाई प्रकाशन गरी राज्य पक्षलाई थप जिम्मेवार बनाउन आग्रह गर्नु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले जिल्ला प्रशासन, जिल्ला प्रहरी, नगरपालिका कार्यालयहरुमा मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्त्रण गर्नु भएको थियो ।
