इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सन् २०२१ को मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम चैत १६ गते बैतडीमा सम्पन्न भएको छ ।
मानव अधिकारको संरक्षण, सम्बर्धन एवं परिपुर्तिका लागि मानव अधिकार रक्षकहरुको सञ्जाललाई गाउँस्तरसम्मै जोड्नु पर्नेमा कार्यक्रममा सहभागि सरोकारवालाहरुले जोड दिनु भएको छ ।

महिला शक्ति केन्द्रका अध्यक्ष देबु ठगुन्नाले इन्सेकका कारण मानव अधिकारको अवस्थाका बारेमा थाँहा हुने गरेको र अझै मानव अधिकारको अभियानलाई गाउँघरसम्म विस्तार गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘ मानव अधिकारको स्रोत नै इन्सेक वर्ष पुस्तक भएको छ । सरकारी क्षेत्रभन्दा पनि हामीलाई इन्सेकको तथ्याङ्कले मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउछ । आगामि दिनमा मानव अधिकारको सञ्जाल गाउँस्तरसम्म नै विस्तार गर्न जरुरी छ ।’
नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष हरीदत्त भट्टले ग्रामिण क्षेत्रका नागरिकहरु मौलिक हकको उपभोगबाट वञ्चित हुँदै आएकाले मानव अधिकारको क्षेत्र व्यापक बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘गाउँमा हुने अधिकासं मानव अधिकार उल्लङ्ंघनका घटनाहरु न्यायिक निकायसम्म पनि आउन नसक्ने अवस्था रहेकाले इन्सेकले यसको क्षेत्र विस्तार गरी ग्रामिण क्षेत्रसम्मै सञ्जाल निर्माण तथा परिचालन गर्न आवस्यक छ ।’

जिल्ला कारागार, बैतडीका प्रमुख नैनसिंह कार्कीले कारागार व्यवस्थापनका लागि पटकपटक कारागार व्यवस्थापन विभागलाई अनुरोध गरिएको भएपनि संवोधन हुन नसकेपछि कारागारका कैदीबन्दीहरुको मानव अधिकार उल्लङ्घन भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘२५ जना क्षमता रहेको कारागारमा ८७ जनालाई कोचेर राख्न बाध्य भएका छौँ, उहाँहरुको अवस्थाका बारेमा कसले बुझिदिने ?’
निःशुल्क औषधि नपाइने गरेको तथा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा नागरिकहरु प्रभावकारी स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुनु परेको कानून व्यवसायी कर्ण भट्टले बताउनु भयोे ।
इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले समग्र सुदूरपश्चिमको मानव अधिकार अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले २०२१ मा सुदूरपश्चिम प्रदेशममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ सय ६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गर्नु भएको थियो । जसमा मानव अधिकार उल्लङ्घनका घटनामा दुई महिला सहित २१ जना र अन्य पक्षबाट ६ सय २७ महिला सहित ६ सय ८५ जना पीडित भएका छन् ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम संयोजक जोशीले इन्सेकले मानव अधिकारको अभियानमा सञ्चालन गर्दै आएका गतिविधिहरु र मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।