इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा पुस १७ गते सुर्खेतको वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सुर्खेत जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक फोकल पसर्न दुर्गा थापाले सन् २०२१ मा जिल्लामा घटेका घटनाहरूको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जस अन्तर्गत हत्या १, बाल अधिकार अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहार ७, बम विस्फोटन १, कुटपिट ५, मानव वेचविखन प्रयास १ र घरेलु हिंसाका ६० गरेर ७५ ओटा घटना समेटीएका छन् ।
कार्यक्रममा सहभागि सरोकारवाला निकायका व्यक्तिहरूले स्थानीय तहमा भइरहेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना नछुटाई प्रकाशनमा ल्याउन सुझाव दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायव सुब्बा यामबहादुर अधिकारीले दुई आर्थिक वर्षमा सङ्कलन गरिएका घटनाहरूको तुलनात्मक अध्ययनसहितको प्रतिवेदन भएको भए अध्ययन गर्न सहज हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर नन्दराज जोशीले स्थानीय तहमा भइरहेका घटना छुटेको भन्दै सबैलाई समेट्न आग्रह गर्नुभयो ।
गैर सरकारी संस्था महासंघ केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसीले इन्सेकले व्यवस्थित अभिलेख राखेको भन्दै भएका घटना नछुटुन भन्नको लागि थप ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार खड्काले अपाङ्गता भएका व्यक्तिहरूसँगका सम्बन्धित घटनाहरू पनि अभिलेखमा समेट्न सुझाव दिनुभयो ।
आवाज संस्थाकी मनोसामाजिक परामर्शकर्ता निशा पौडेलले सामूहिक बलात्कारका घटना अभिलेख गर्न छुटेकोले समेट्न आग्रह गर्नुभयो ।
बार एसोसियशन सुर्खेतका कोषाध्यक्ष गिता कोइरालाले महिला र बालिका माथि भएको हिंसाको घटना छुटेको औँल्याउँदै विशेषगरी यौनजन्य हिंसाका घटनामा बृद्धी भएको भनाइ राख्नुभयो ।
दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नाराण विकले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार अन्तर्गतका घटना र जातीय विभेदका घटनालाई पनि प्रतिवेदनमा समेट्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेश तिमल्सिनाले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अवस्थाको बारेमा तीस वर्षदेखि वार्षिक रूपमा अभिलेख गर्दै आएको र जसको आधारमा केहि पीडितले न्याय प्राप्त गर्नुका साथै कतिपय कानुन निर्माण तथा संशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नु भयो ।
अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायीको सहभागित रहेको कार्यक्रमको अध्यक्ष इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले गर्नुभएको थियो ।

