गत पुस ७ गते प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ निवासी म्यादी प्रहरी विवेक ऐडीको घटनाका विषयमा गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले पुस २८ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आफ्नो सेवा सुविधामा प्रहरीले अनियमितता गरेको भन्दै म्यादी प्रहरीले अन्दोलन गर्दा प्रहरीले चलाएको गोलीबाट विवेक ऐडीको मृत्यु भएपछि गृह-मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी सहितको उच्चस्तरीय छानबिन समितिले घटनाको अध्ययन गरी फर्केको थियो ।
घटनाको स्थलगत अध्ययन गरेर पुस ९ गते काठमाडौँ फर्केको छानबिन टोलीले सात दिन भित्र सत्यतथ्य प्रतिवेदन पीडितलाई उपलब्ध गराउने आश्वासन दिएपनि हालसम्म गुपचुप राखेको भन्दै मृतकका बुवा हरिबहादुर ऐडीले प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै कालिकोटका निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालमार्फत गृहमन्त्रीलाई ज्ञापन-पत्र बुझाएका हुन् ।
ऐडीले छिटो भन्दा छिटो छानबिन प्रतिवेदन सार्वजनिक नभए कडा आन्दोनमा उत्रने चेतावनी दिएका छन् ।
साथै गृहमन्त्रायको छानबिन प्रतिवेदनमा चित्त नबुझेमा स्वतन्त्र न्यायिक छानबिन समितिको लागि समेत माग गर्ने पीडित ऐडीले बताए । छानबिन टोलीले पुस २५ गते सोही घटनाको प्रतिवेदन गृहमन्त्रालयलाई बुझाए पनि हालसम्म सार्वजनिक गरेको छैन ।