इन्सेक प्रदेश १ कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूह थानपालथानको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते सम्पन्न भएको छ ।
इन्सेकद्धारा सञ्चालित कियोस परियोजना अन्र्तगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको इन्सेक सहजकर्ता अञ्जु बस्नेतले बताउनु भयो ।
अन्तरक्रियामा मानव अधिकार समूहका अध्यक्ष कृष्णप्रसाद राजवंशी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रियामा सहभागीहरूले प्रत्येक वडामा विपन्न असहाय, दलित र अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क स्वास्थ्य बीमा,मातृ भाषाको किताबको सहज उपलव्धता, विद्यालयमा बिरामी कक्ष र नर्सको व्यवस्था गर्न माग गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै धनपालथान गाउँपालिका–४ का किसान लखन महतोले कात्तिक १ गतेको बैमौसमी वर्षाका कारण धानबालीमा पूर्ण रूपमा क्षति पुगेको भएपनि गाउँपालिकाबाट अनुगमन नभएको गुनासो गर्नुभयो । उहाँले धानबाली नष्ट भएका कारण स्थानीय सरकारले अनुगमन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नु भयो ।
धनपालथान गाँउपालिका–४ का चित्रबहादु पौडेलले सामुदायिक विद्यालयमा सरकारको लगानी प्रशस्त भएपनि बालविकास केन्द्रको अवस्था दयनीय भएको बताउनु भयो ।
धनपालथान गाउँपालिका–१ का रोहितकुमार शाहले स्वास्थ्य चौकी नोचाको भवन जीर्ण हुँदा वर्षाको समयमा पानी चुहिने हुँदा सेवाग्राहीलाई समस्या हुने गरेको बताउनु भयो ।
स्वास्थ्य चौकी कर्सियाका प्रमुख मनोजकुमार शाहले सवै वडामा खोप केन्द्र नहुँदा बालबालिकालाई खोप लगाउन समस्या हुने गरेको बताउनु भयो । उहाँले स्थानीय सरकारले सवै वडामा खोप केन्द्र निर्माण गर्न माग गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा सर्वदा सहकारी संस्था धनपालथान गाउँपालिका–५ की कोषाध्यक्ष सीता पाठकले गाउँपालिकालाई बजार अनुगमनको अधिकार भएपनि बजार अनुगमन नहुँदा उपभोक्ता सधैँ आफ्नो अधिकारबाट वञ्चित हुनु परेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालय विराटनगरकी कार्यक्रम अधिकृत बाग्मती कट्टेलले संविधान प्रदत्त मौलिक अधिकार भित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा इन्सेकले स्थानीय सरकारसँग सहकार्य गरी काम गरि रहेको बताउनु भयो ।
प्रत्यक्ष सेवा प्रदायक र सेवाग्राहीबीचको अन्तरक्रियाबाट निस्किएको समस्याको पहिचान, समस्या समाधानको उपाय भएमात्र मानव अधिकार स्थापित हुने भएकाले इन्सेकले सोही अुनसार पैरवी गर्दै आएको बताउनु भयो ।
धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा वानुले मानव अधिकार, मानव जीवन र पद्धतिसँग जोडिएको विषय भएकाले यसको क्षेत्र व्यापक हुने बताउनु भयो । उहाँले मानव अधिकारका सवाललाई स्थानीय सरकारले मात्र सम्बोधन गर्न नसक्ने भएकाले सबैको सहकार्यमा मानव अधिकारका सवालमा सम्बोधन गर्ने बताउनु भएको छ ।




